को हुन् एनआरएनए जापानको अध्यक्ष पदका उम्मेद्वार निउरे ?

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानकाे अध्यक्ष पदका लागि नविन निउरेले उम्मेदवारी दिएका छन् । बागलुङ जिल्लाकाे गल्कोट नगरपालिका–२ ठानामा जन्मिएका निउरे सन् २०११ बाट एनआरएनए जापानमा जाेडिएका हुन् । लामो समयदेखि सामाजिक कार्यमा सक्रिय निउरे जापानमा रोजगार सँगसँगै विभिन्न संघ-संस्थामा आवद्ध भइ काम गरिरहेका छन् ।

जापान पुगेदेखि नै उनी सामाजिक संघ संस्थामा आवद्ध भएका थिए । जापानको कान्तो क्षेत्रीय समितिको सदस्य पदबाट सक्रिय उनी एनआरएनएको अभियानमा लागेदेखि क्षेत्रीय समितिको कोषाध्यक्ष, सचिव, संयोजक हुँदै राष्ट्रिय समन्वय परिषद्को युवा उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा थिए ।

विभिन्न सामाजिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गरेका निउरे आवेगले नभई विवेक र विधिले काम गर्नु पर्ने मान्यता राख्छन् । निउरे जापानमा सक्रिय संस्था मध्येको गल्कोट समाज जापानको महासचिवसमेत भइसकेका छन् भने गलकोट स्पोर्टस् क्लब, टोकियोकाे सल्लाहकार हुँदै नेपाल पत्रकार महासंघ जापान शाखालगायत दर्जन बढी संघ-संस्थामा आवद्ध छन् ।

सिद्धार्थ बनस्थली स्कूलबाट माध्यमिक शिक्षा हासिल गरेका निउरेले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । सन् २००५ देखि जापानमा बसोबास गरेका उनी सन् २०१० देखि जापानमा आफ्नै व्यवसाय गरिरहेका छन् । हाल उनले रेमिट्यान्स, रेष्टुरेण्ट एवं कन्सल्टिङ व्यवसाय सञ्चालन गरिरहेका छन् । जापानमै पहिलो पटक नेपालीहरुद्वारा स्थापना गरिएको एभरेष्ट इण्टरनेशनल स्कुलको संस्थापक शेयर सदस्यसमेत रहेका उनले नेपालमा समेत शैक्षिक तथा बैंकिङ क्षेत्रमा लगानी गरेका छन् ।

सानै उमेरमा व्यवसायिक सफलता हात पार्न सफल उनी जापानवासी नेपाली युवाहरुका लागि उदहारणीय पात्रका रुपमा परिचित छन् । जापानमा रहँदा समस्यामा भएकाहरुको सच्चा सारथि बन्दै आएका निउरे अप्ठ्यारोमा परेकालाई उद्धार गर्न होस् या त परदेशी भूमिमा आफ्नो जीवन गुमाएकाको अन्त्येष्टिको व्यवस्थापनका लागि अग्रदस्ताका रुपमा उपस्थिति जनाउँदै सकेको आर्थिक सहयोग गर्नसमेत तम्सिहाल्छन् ।

आफूले लिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने निउरे गफ र स्टन्टमा होइन काममा विश्वास गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै समाजिक सेवामा क्रियाशील छन् ।

११ औँ पटकसम्म एनआरएनए जापानको नेतृत्वमा भएका नेपाल फेष्टिभल सधैँ घाटामा डुबिरहेको अवस्थालाई नजिकबाट नियालेका उनले १२ औँ नेपाल फेष्टिभलमा आर्थिक संयोजकको जिम्मेवारी लिँदै जापानमा भएका नेपाल फेष्टिभलकाे इतिहासमै पहिलो पटक नाफा दिन सफल भए ।

जाापानवासी नेपालीका समस्या समाधान गर्नका लागि दत्तचित्त भएर लाग्ने निउरेले नेपाली राजदूताबासबाट प्रदान गरिने सेवालाई पहुँच योग्य र सहज बनाइनुपर्छ भन्ने लागेपछि जापानमै पहिलो पटक नेपाली राजदूतावासको सेवालाई घुम्ती सेवा संञ्चालन गरिनुपर्ने अवधारणा अघि सारेसँगै सो कार्य कार्यान्वयन हुनुलाई आफ्नो सन्तुष्टिको रुपमा लिने गरेको बताउँछन् ।

समाजसेवालाई नै आत्मसन्तुष्टिका रुपमा लिने भन्दै एनआरएनएको अभियानबाट सिकेका अनुभव अन्य समाजिक संघ संस्थाका नेतृत्वदायी तहमा रहेर गरेको योगदानलाई अब एनआरएनए जापानको नेतृत्वदायी भूमिकामा रहेर पारदर्शीता, रुपान्तरण, प्रविधिमैत्री एनआरएनए बनाउने आफ्नो लक्ष्य रहेको उनकाे भनाइ छ ।

एनआरएनए जापानको सुधारका लागि संस्थामा दोश्रो पुस्ता, महिला, यूवाको संलग्नता, अग्रजको सम्मान, पेशागत एवं व्यवसायिक विकाशमा समन्वय, नेपाली संस्कृतिको जगेर्ना, विद्यार्थी केन्द्रित कार्यक्रम, संस्थागत विकाश एवं सुदृढिकरण, नेपालको पर्यटन प्रवर्द्धन, सुरक्षित वैदेशिक रोजगार र सचेतनामूलक कार्यक्रममा मुख्य सुधार गर्ने प्रस्तावित कार्यक्रम र स्पष्ट योजनासहित एनआरएनए जापानको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका निउरेले जापानबासी नेपालीहरुमा सहयाेगका लागि अनुराेध पनि गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१