संखुवासभा जेलमा प्रहरीले कुट्दा एक कैदीको मृत्यु, असईसहित १० जना नियन्त्रणमा

काठमाडौं । संखुवासभामा प्रहरीले कुट्दा कैदीबन्दीको ज्यान गएको छ । खाँदबारी जेलमा एक कैदीबन्दीलाई बारम्बार प्रहरीले कुटेपछि मृत्यु भएको खुलेको छ ।

कारागारमा रहेको सीसी टीभी फुटेजमा प्रहरीले कैदीलाई निर्घात कुटपिट गरेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाले भन्यो ‘कारागारभित्रै कैदीमाथि लाठ्ठी र मुक्काले हानेको देखिन्छ ।’

प्रहरीले कुटपिटको घटनामा संलग्न रहेको आरोपमा १० जना प्रहरीलाई नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका १० जना प्रहरी त्यस घटनामा संग्लन रहेको पाइएको हो ।

कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदीहरू संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीलाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कारागारको सुरक्षार्थ खटिएका असई लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनिष राई, दमनसिंह राई र सुमन गुरुङलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१