नेपालमा एनआरएनए अध्यक्ष घोषणा गरेर जापान पुगेका महेश श्रेष्ठलाई भव्य स्वागत

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेलगत्तै जापान पुगेका महेशकुमार श्रेष्ठलाई स्थानीय गैर आवासीय नेपालीहरुले नारिता विमानस्थलमा भव्य स्वागत गरेका छन् ।

आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि हालका उपाध्यक्ष श्रेष्ठले दुई वर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि गत शुक्रबार काठमाडौंमा एक समारोहबीच अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै प्रतिबद्धता सार्वजनिक गरेका थिए ।

‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित चुनावी दौडाहामा उत्रिएका श्रेष्ठले जापानमा भएको स्वागतले विजयका लागि उत्साहित गराएको प्रतिक्रिया दिए । जापानका विभिन्न शहरबाट स्वागतका लागि पुगेका शुभेच्छुकहरुले उनलाई विजयको शुभकामना दिएका थिए । विमानस्थलमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै संघको अध्यक्षमा विजयी भएको तीन महिनाभित्र एक्सन प्लान र रणनीति बनाएर काम गर्ने उनले प्रतिबद्धता जनाए ।

‘प्रवासी नेपाली र नेपाल सरकारले एनआरएनएसँग ठूलो आशा अपेक्षा राखेको छ । त्यसैले हामीले दुई बर्ष भित्र अथाह काम गर्नुपर्ने बाध्यता छ । म काम गर्नका लागि नै एनआरएनएको नेतृत्व गर्न चाहेको हुँ,’ उनले भने ।

त्यस्तै एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा महासचिवका प्रत्यासी सुवेदीले जापानमा भएको स्वागतले उत्साहित गराएको प्रतिक्रिया दिंदै संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई स्वायत्तता दिनका लागि आफूले प्रयास गर्ने बताए । उनले भने,‘अध्यक्ष श्रेष्ठसहितको हाम्रो टीम जुझारु र लगनशील छ । हामी काममा विश्वास गर्छौं र दुई बर्षभित्र गैर आवसीय नेपालीहरुका पक्षमा र मातृभूमिका लागि परिणाममुखी काम गरेर देखाउनेछौँ ।’

गत शुक्रबार ललितपुरको हिमालय होटलमा आयोजित समारोहमा श्रेष्ठले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । सो अवसरमा उनले आगामी दुई वर्षको लागि पाँच नीतिगत योजनासहितको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका थिए ।

समारोहमा संघको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको भन्दै श्रेष्ठले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र सङ्गठित एनआरएनए बनाउने दृढता व्यक्त गरे । श्रेष्ठ र सुवेदी जापान हुँदै कोरिया, मध्यपूर्व, मलेसियालगायतका देशहरुमा पुगेर गैर आवासीय नेपालीहरुसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१