रिगललाई जेलमै राख्नुपर्ने माग राखेर अनशन बसिन् भारती (भिडिओसहित)

काठमाडाैं । बाँकेका योगराज ढकाल (रिगल) लाई आममाफी दिएको विरोधमा भारती मानन्धरले अनशन सुरू गरेकी छन् ।

श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि विराेध भइरहेकाे छ ।

भारतीले बुधबार बिहानदेखि माइतीघर मण्डलमा अनशन सुरू गरेकी हुन् । उनले श्रीमानको हत्या गर्नेलाई पुन: जेलमा पठाउनुपर्ने माग राखेकी छन् ।

उनले भनिन्, ‘बीचमै हत्यारालाई आममाफी दिँदा यस्ता हत्यारा अरू पनि जन्मिन्छन् । राजनीतिक शक्ति दुरूपयोग गर्दै हत्याराहरू अघि बढ्न सक्छन् ।’

भारतीका श्रीमान चेतनको हत्या अभियोगमा रिगललाई सर्वस्वसहित जन्मकैद सजाय दिइएको थियो ।

०७५ भदौ अघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको भन्दै सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

रिगललाई आममाफी दिइएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधि सभा बैठकमै प्रश्न उठाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति पौडेललाई भेटेर आममाफीबारे तीन बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि रिगललाई सरकारले आममाफी सिफारिस गरेकोमा गत असोज ४ देखि ८ गतेसम्म सानेपामा चलेको केन्द्रीय समिति बैठकबाट विरोध गरेका थिए ।

भिडिओ :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१