इजरायल–प्यालेस्टिन युद्धमा ८ सय जनाभन्दा बढीकाे मृत्यु

काठमाडाैं । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा मृत्यु हुनेकाे सङ्ख्या चार सय जनाभन्दा धेरै पुगेको छ ।

हमासले हिजो शनिवारदेखि शुरु गरेको आक्रमणमा इजरायलमा चार सय जनाभन्दा धेरैको मृत्यु भएकाे इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यस्तै, दुई हजार जनाभन्दा धेरै घाइते भएका छन् । कैयौँ इजरायलीलाई हमास विद्रोहीले बन्धक बनाएका छन् । इजरायली सेनाले पनि जवाफी कारबाहीमा चार सय जनाभन्दा धेरै विद्रोही मारिएकाे बताएको छ ।

हिजो बिहान हमास विद्रोहीले इजरायलमा एक्कासी आक्रमण गरेपछि शुरु भएको युद्ध अहिले पनि चलिरहेको छ । दुवै पक्षबाट क्षेप्यास्त्र प्रहारसहित स्थलमार्गबाट गोलावारी भइरहेको बीबीसीले जनाएको छ ।

यसैबीच, इजरायली सेनाले गाजाको सीमा नजिकका शहरहरूमा बस्ने सबै बासिन्दालाई आउँदो २४ घण्टाभित्र अन्यत्र सार्ने बताएको छ । प्यालेस्टिनी लडाकु समूह हमास रहेको क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्र पार्ने क्रममा सीमा नजिकका क्षेत्रहरू खाली गर्न लागेको सेनाले जनाएको हाे ।

यस्तै, हिजबुल्लाह समूहले तीन वटा इजरायली चौकीमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले लेबनानमा पनि आक्रमण शुरु गरेको छ ।

इजरायल–प्यालेस्टिन युद्धलाई लिएर आज आइतवार संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्दै छ । अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई सबै खाले माध्यमबाट सहयोग गर्ने प्रस्ताव गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासका सबै सैन्य तथा सरकारी क्षमतालाई नष्ट गर्ने चेतावनी दिएका छन् । उनले गाजाका बासिन्दालाई आफ्नो घर छोडेर शरण लिन आग्रह गरेकाे पनि बीबीसीले जनाएको छ । इजरायलले गाजा क्षेत्रमा विद्युत्, इन्धन र सामानको आपूर्ति बन्द गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१