
काठमाडौं । काठमाडौंमा लुटपाट गरेको आरोपमा तीन जना प्रहरी पक्राउ परेका छन् । काठमाडौंको महाराजगन्ज स्थित प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
ड्युटी गर्ने क्रममा दुई साताअघि उनीहरूले लुटपाट गरेका हुन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान मोडमा ट्याक्सीमा आएका ३ महिला र एक जना पुरुषलाई रोकेर उनीहरूले पैसा नदिए पक्राउ गर्ने धम्की दिएको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ पर्नेमा असई सुन बहादुर तामाङ, हवलदार खगराज अधिकारी र जवान भुवन बराल छन् । पैसा लिएर छाडेपछि पीडितहरुले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए । त्यसपश्चात प्रहरीले आरोपी प्रहरीलाई नियन्त्रण लिएको हो ।