प्रहरीले घेर्‍यो दुर्गा प्रसाईंको घर, बाहिर निस्किन नदिने रणनीति

काठमाडौं । गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले उनकै घरमा घेरेर बाहिर निस्कन नदिने रणनीति बनाएको छ । प्रसाईंको भक्तपुर थिमीस्थित निवासमा नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोली खटिएको हाे ।

प्रसाईंको घरलाई वरपरबाट घेरेर उनलाई त्यहाँबाट निस्कन नदिने प्रहरीको तयारी छ । प्रहरीले आज बिहान प्रसाईंका केही समर्थकलाई पक्राउसमेत गरेको बताइएको छ ।

हिजो पहिलो दिन उल्लेख्य संख्यामा प्रदर्शनकारी सडकमा आएपछि प्रसाईंले साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए ।

प्रशासनले भने उनलाई बल्खुमा प्रदर्शनका लागि ठाउँ छुट्याइएको बताउँदै अन्य ठाउँमा भेला हुन नदिने बताएको छ ।

काठमाडौंका सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यले हिजो विज्ञप्ति जारी गर्दै उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानूनविपरीतका गतिविधि गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१