नतात्दै सेलायाे दुर्गा प्रसाईंकाे ‘रमिता’

काठमाडौं । गणतन्त्रकाे विराेध गर्दै देशमा राजसंस्था ल्याउने भनेर मंसीर ७ गते व्यवसायी दुर्गा प्रसाईंले केही मानिस सडकमा उतारे । तामझामका साथ उपत्यकाकाे चारैदिशाबाट ‘राजा आउ, देश बचाउ’काे नारासहित बल्खु पुग्ने भीड ठूलै देखिन्थ्याे । उक्त दिन बल्खुमा जम्मा भएकाे भीडले गणतन्त्र पक्षधरमा ठूलै हलचल मच्चायाे । सामाजिक सञ्जालमा पनि यसबारे उल्लेख्य चर्चा भयाे ।

आफूले नेतृत्व गरेकाे आन्दाेलनमा उल्लेख्य मानिसकाे साथ पाएकाले हाेला दुर्गा प्रसाई झन् हाैसिए । त्यही भीडबाट सिंहदरबार घेर्ने अभिव्यक्ति दिए । उनकाे अराजक अभिव्यक्तिका कारण प्रहरीसँग मुठभेडकाे अवस्थासम्म निम्तियाे । प्रसाईं झन् झन् अराजक बन्दै गए । ७ गते बेलुका पत्रकार सम्मेलन गरेर ‘श्रीलंका स्टाइल’मा आन्दाेलनकाे शैली बदल्ने भन्दै अराजक अभिव्यक्ति दिए । उनकाे आन्दाेलन ८ गते तीनकुनेमा गर्ने तय भयाे । तर ८ गते तीनकुनेमा प्रदर्शन गर्न सरकारले राेक लगायाे । उनी आफ्नै घरमा ‘नजरबन्द’मा परे । प्रहरीले उनकाे घर घेर्‍याे तीनकुनेमा उपस्थित उनका समर्थकलाई पक्राउ गर्‍याे ।

८ गते तीनकुनेमा आन्दोलन गर्नबाट वञ्चित प्रसाईंले ९ गते सिफलमा प्रदर्शन गरे । आन्दोलनले सार्थकता नपाउने जानेर होला ९ गतेकाे कार्यक्रममा नागरिककाे उपस्थिति कम देखियाे । प्रसाईं भुईंमान्छेको आवाज सुन्ने भन्दै करिब एक वर्षदेखि देश दौडाहामा थिए । जनताका विभिन्न समस्याहरु समाधान गर्नेमा कत्तिकाे भरोसा दिलाउन सकेका रहेछन् भन्ने कुरा उनको यही आन्दोलनले देखाइहाल्याे । राजसंस्थाकाे चर्काे नारा लगाएर र ठूलो संख्यामा बैंक, वित्तीय संस्था र लघुवित्तका ऋणीहरू बटुलेर ७ गते बल्खुमा गरेकाे ‘रमिता’ (उनकाे भाषामा जनविद्राेह) तीन दिनकाे अवधिमा सीमित भएर खुम्चियाे ।

सिंहदरबार घेर्ने र नारायणहिटीमा राजाको पुनर्बहाली गर्ने दुर्गा प्रसाईंकाे मंसिर ७ को सपना ९ गतेसम्म आउँदा सपनामै सीमित हुने देखियाे । ७ गते जसरी आम नागरिकले साथ दिएका थिए त्यसकाे भाेली र पर्सी तय भएका कार्यक्रममा उनले नागरिककाे साथ पाएनन् । ९ गते सिफलमा उनले काठमाडौंको जनताले आफ्नो जनसंघर्षमा साथ नदिएको गुनासाे पनि गरे ।

व्यवस्था परिवर्तन नभएसम्म आन्दाेलन जारी राख्ने भनिएकाे प्रसाईंको प्रदर्शन राम्रोसँग नतात्दै सेलाएको छ । गाउँगाउँबाट विभिन्न आश्वासन दिएर ल्याइएका प्रदर्शनकारी फर्किएका छन् । प्रसाईंकै ‘क्षुद्र र अराजक’ अभिव्यक्तिका कारण पनि प्रदर्शन झन्–झन् फितलो भइरहेकाे छ । बिना एजेन्डाकाे अराजक र हाेहल्लाकाे भरमा निम्त्याइएकाे आन्दाेलन गतिहीन हुनु स्वभाविक पनि हाे ।

गतवर्षकाे फागुन १ मा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानकाे सुरुवात गरेर भुईंमान्छेकाे आवाज सुन्ने भन्दै देश दाैडाहामा लागेका प्रसाईंले देशका विभिन्न भूभागमा पुगेर बैंक तथा वित्तीय संस्थाकाे ब्याज नतिर्ने भन्दै अराजक अभिव्यक्ति दिएका थिए । सहकारी तथा लघुवित्तबाट ठगिएका पीडितहरु उनकाे सम्पर्कमा आएर उनकाे प्रदर्शनमा साथ दिए ।

बैंकको ऋण माफ गर्नेसहित राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति बचाउन तथा तस्कर, माफियातन्त्र, भ्रष्टाचारको अन्त्य गर्न र ‘तानाशाही’ शासकको अन्त्य गरेर राजतन्त्र स्थापना गर्ने पनि आफ्नो एजेन्डा भएको प्रसाईं बताउँछन् ।

सुरुमा झापामा महाअभियानकाे सुरुवात गर्दा पूर्वराजाका परिवार लगेर अब राजसंस्था ल्याउनुपर्छ भनेर राजावादीकाे समर्थन पनि बटुले । तर बीचमा उनी पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि भड्किए । उनले विभिन्न ठाउँमा आफू राजावादी नभएकाे र राष्ट्रवादी भएकाे भन्दै अभिव्यक्ति पनि दिन भ्याए । प्रसाईंले गरेका प्रदर्शनमा ज्ञानेन्द्र शाह सडकमा नउत्रिएकाे आक्राेश थियाे त्याे ।

प्रसाईंले अघि सारेका राजा तथा धर्मका मुद्दा संसदको पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्षौंदेखि बोकिरहेको एजेन्डासँग मेल खान्छ । पार्टीका कतिपय एजेन्डा बोकेर प्रसाईंले आन्दोलन घोषणा गरेपछि राप्रपाभित्र प्रसाईंको अभियानलाई समर्थन गर्ने कि विरोध भन्ने दुविधा पनि देखिएकाे पाइएकाे छ ।

गएकाे ७ गतेकाे प्रदर्शनमा पनि प्रसाईंले राजावादीकाे राम्राे साथ पाए । नेपालमा राजतन्त्र फर्काउनुपर्छ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले पनि उनलाई साथ दिए । दुर्गा प्रसाईंकाे प्रदर्शनमा राप्रपाका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही आफैँ पनि उपस्थित भए । दुर्गा प्रसाईंकाे हात समातेर भीँडमा चर्काे स्वरमा राजतन्त्रकाे पक्षमा नारा लगाए ।

राप्रपाकाे औपचारिक बैठकहरूमा नै नेता प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्रले पनि प्रसाईंले गर्ने कार्यक्रममा राप्रपाले समर्थन गर्नुपर्ने बताएका थिए । तर राप्रपाले यस विषयमा कुनै संस्थागत निर्णय भने गरेन । पार्टीले कुनै निर्णय नलिएपछि नेता लोहनीले ७ गतेकाे प्रदर्शन अघि फेसबुकबाट प्रसाईं समर्थित धारणा सार्वजनिक गरेका थिए । रविन्द्र मिश्रले पनि दुर्गा प्रसाईंले जम्मा गरेकाे भींडकाे तस्बिर सामाजिक सञ्जालमा राखेर ‘प्रचण्डपन्थीहरूले त अब राजसंस्थावादीलाई अवमूल्यन गर्न सक्ने अवस्था नरहेकाे’ भनी उल्लेख गरेका थिए ।

राप्रपाका केही नेताकाे समर्थन पाए पनि प्रसाईंकाे अभियानकाे दिशा भने अन्याेल नै देखिन्छ । गत सात गतेकाे आन्दोलनमा सहभागी भएकामध्ये कोही राजतन्त्रको एजेण्डा बोक्ने, कोही अवस्था परिवर्तन गर्नुपर्छ भन्ने र कोही ऋण मिनाहा हुन्छ भनेर आएकाे भन्न‍ेहरु थिए । फरक–फरक एजेन्डामा आ–आफ्ना राेटी सेक्न आएकाहरु तितरबितर हुँदा प्रसाईंकाे आन्दाेलन भने सेलाएकाे छ । यद्यपी उनका केही समर्थक भने आन्दाेलन जारी रहने र आन्दाेलन प्रभावकारी नहुँदा दिशा परिवर्तनकाे लागि ‘रेस्ट’ गरेकाे बताइरहेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१