भारतद्वारा रुपन्देहीमा निर्मित विद्यालयको भवन उद्घाटन

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले भारतको सहयोगमा रुपन्देहीको रोहिणी गाउँपालिका–२, भटपुरवामा बनेको पोखरभिण्डी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । नेपाल–भारत विकास सहकार्य अन्तर्गत निर्मित भवनको उद्घाटन भएको हो ।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको १ अर्ब २५ करोड लागतमा निर्माण भएको भारतीय राजदूतावासले जनाएको छ ।

भारतीय राजदूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाल–भारत विकास सहकार्य अन्तर्गतको भारत सरकारको अनुदान दुई तल्ले विद्यालय भवन निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । जिल्ला समन्वय समिति, रुपन्देहीमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको हो।’

कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले नेपालका शैक्षिक तथा अन्य विविध क्षेत्रमा पूर्वाधार विकासका लागि भारत सरकारले गरेको सहयोगको प्रशंसा गरे । उनले दुई देशबीचको विकास साझेदारीले दुई देशका जनताबीचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन ठूलो योगदान गरेको धारणा राखे ।

यसैगरी, भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तवले परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण हिस्सा भएको बताए । उनले भने, ‘यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरुलाई समेत समेटेको छ । दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरुप विकास साझेदारीलाई सुदृढ गर्न भारत सरकार निरन्तर लागिपर्छ।’

सन् १९५९ मा स्थापना भएको विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् । ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये ६० वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् जसमा १२ वटा परियोजना रुपन्देहीमा छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१