
काठमाडौं । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको निहुँमा मारिएका जाजरकोटका नवराज विकसहित छ जना युवाका आफन्त काठमाडौं आइपुगेका छन् ।
साढे तीन वर्षअघि भएको हत्याकाण्डमा जिल्ला अदालत रुकुम पश्चिमको १९ मंसिरको फैसलाले न्याय पाएको भन्दै पीडितका आफन्त मुद्धामा न्याय दिने न्यायालय, न्यायधीश, सरकार र घटनामा सद्भाव राख्ने सबैप्रति धन्यवाद ज्ञापन गर्न काठमाडौँ आएका हुन् ।
उनीहरुले शुक्रबार काठमाडौंमा धन्यवाद र्याली निकाल्दैछन् । बिहीबार राष्ट्रिय दलित आयोग पुगेका उनीहरुलाई आयोगले दलित अधिकारकर्मीहरुसमेतको उपस्थितिमा स्वागत गरेको थियो । जातीय भेदभाव र छुवाछुतजस्तो अमानवीय सामाजिक अपराधको घटनामा अहिलेसम्मकै महत्वपूर्ण न्यायिक फैसला आएको भन्दै दलित अगुवा र अधिकारकर्मीहरुले समेत धन्यवाद र्यालीमा सहभागिता जनाउनेछन् ।
शुक्रबार दिउँसो २ बजे भृकुटीमण्डपमा जम्मा हुने र त्यसपर्छि र्याली लिएर शान्तिवाटिका पुगेपछि धन्यवाद सभा गर्ने कार्यक्रम रहेको दलित अधिकारकर्मी खगेन्द्र सुनारले बताए । उनका अनुसार र्यालीका लागि नवराज विकका बुवा मुनलाल नेपालीसहित आफन्तहरु र्यालीका लागि काठमाडौं आएका छन् ।
मुद्धामा थुनछेक बहस सकिएपछि पनि घटनामा मारिएका छ युवाका आमाहरुले काठमाडौँको माइतीघरमा आएर न्याय माग्दै विरोध प्रदर्शन गरेका थिए ।
साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको हत्या भएको मुद्धामा १९ मंसिरमा अदालतले घटनामा संलग्न भएका २४ जनालाई कर्तव्य ज्यानतर्फ जन्मकैद र २ जनालाई जातीय छुवाछूत कसुरमा २ वर्ष कैद सजाय सुनाएपछि पीडितका आफन्तले अदालतमा फुल चढाएका थिए ।
२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी २१ वर्षीय युवतीलाई भेट्न पुगेका उनका प्रेमी नवराजसहितका साथीहरू स्थानीयको आक्रमणमा परेका थिए ।
त्यसबेला नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो । उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो । घटनामा अरू १२ जना घाइते भएका थिए ।
घटनालगत्तै नवराजका बुबा मुनलालको जाहेरीमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ मा मुद्दा दायर भएको थियो । त्यसमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग र एक जनालाई यी सबै अपराधमा मतियारको भूमिका निर्वाह गरेको अभियोग लागेको थियो । आरोपित ८ जनाले भने सफाई पाएका छन् ।