नाबालिका बलात्कारको आरोपमा सन्दीप लामिछाने दोषी ठहर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोपमा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले दाेषी ठहर गरेको हो । उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

उनकाे सजाय ताेक्नका लागि फेरि छुट्टै सुनुवाइ हुने भएकाे छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो ।

त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए । २० असोजमा नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ परेका थिए ।

अनुसन्धान प्रक्रिया पूरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बलात्कारको मुद्दा चलाएकाे थियाे । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठायो ।

त्यसविरुद्ध सन्दीप उच्च अदालतमा गए । २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दियो । तर लामिछानेलाई विदेश जान रोक लगाइएको थियो ।

त्यसपछि सन्दीप फेरि राष्ट्रिय टिममा परे । लिग टूको खेलका लागि विदेश जान अनुमति माग्दै सर्वोच्च गए । १५ फागुन २०७९ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति दिएकाे थियाे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१