नेपालमा पनि कोभिड जेएन.१ सब–भेरिअन्टः रोकथामका लागि के गर्दै छ सरकार ?

काठमाडौं । छिमेकी मुलुक भारतमा प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस ओमिक्रोनको नयाँ सब–भेरिअन्ट जेएन.१ नेपालमा पहिलोपटक पुष्टि भएको छ ।

विभिन्न देशबाट फरक फरक उमेरका व्याक्तिहरुबाट संकलित १६ वटा पीसीआर र एन्टीजेन पोजेटीभ नमुनाहरुमा गरिएको परिक्षणमा ७ जनामा यो संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाभाइरस ओमिक्रोन भिरिअन्टको सब–भेरिअन्ट जेएन.१ भेटिएपछि नेपाली नाकाहरू र अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी तथा कडाइ गर्ने कार्य थप बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले बताएका छन् ।

‘देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा पीसीआर तथा एन्टिजन पोजेटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मिति २०८०-९-२२ मा गरेको पछिल्लो जिन सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब–भेरिअन्ट जेएन.१ नेपालमा पहिलो पटक पुष्टि भएको जानकारी गराउँदछौँ ।’

नयाँ सबभेरिअन्ट भेटिएका व्यक्तिहरू कहाँका हुन् ?

स्वास्थ्य मन्त्रालयका अनुसार, अहिले नयाँ सब–भेरिअन्टको संक्रमण पुष्टि भएका व्यक्तिहरू काठमाडौं, पोखरा, चितवन, भक्तपुर, धनगढी लगायतका क्षेत्रका हुन् ।

उनीहरू विदेशबाट आएको वा विदेशबाट हालै फर्केका व्यक्तिको सम्पर्कमा रहेको वा नरहेकोबारे मन्त्रालयले बुझिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

यद्यपी, संक्रमितमध्ये कोही पनि अस्पताल भर्ना हुनुपर्ने अवस्थाका नरहेको बुढाथोकीले मन्त्रालयका अधिकारीले बताए ।

रोकथामका लागि के गर्दै छ सरकार ?

कोरोनाभाइरसको नयाँ सब–भेरिअन्ट भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड नियन्त्रणका लागि महामारीका बेलामा चालेका सबैखाले कदमहरू चाल्न सुरु गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

उनले भने, ‘हामीले पहिले महामारीका बेलामा अपनाएका सबै उपायहरू पुनः सक्रिय बनाउने निर्णय गरेका छौँ र त्यसै अनुसार काम भइरहेको छ ।’

उनका अनुसार नेपालमा ९२ प्रतिशतले बुस्टर मात्रासहित खोप लगाइसकेकाले यो सब–भेरिअन्टले धेरै असर नपार्ने ठानिएको छ ।

कम घातक खालको सब–भेरिअन्ट भएपनि दीर्घरोगी र ज्येष्ठ नागरिकहरूलाई धेरै असर पर्नसक्ने भएका निगरानी बढाउन आवश्यक रहेको उनको भनाई छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नयाँ सबभेरियन्टको जोखिमलाई ख्याल गरी सीमा नाकाहरूमा आवश्यक स्क्रिनिङ र निगरानी गर्न थालिएको छ ।

जेएन.१ भेरिअन्ट के हो ?

विश्व स्वास्थ्य सङ्गठनले कोभिडविरुद्ध मान्यता पाएका खोपहरूले यो उपप्रजातिको जोखिम कम गर्ने भएपनि थप अध्ययन आवश्यक रहेको उल्लेख गरेको छ ।

उसले निगरानी गरिरहेको यो भेरिअन्ट सबैभन्दा पहिले अमेरिकामा पत्ता लागेको थियो । तीव्र सङ्क्रमणदर रहेको यो भाइरस हालसम्म नेपालका छिमेकी भारत र चीनसहित विश्वका ४० भन्दा धेरै देशहरूमा फैलिसकेको विवरण आएका छन् ।

यो भेरिअन्ट अहिले अमेरिकामा सबैभन्दा तीव्र गतिमा फैलिरहेको छ र १५ देखि ३० प्रतिशत सङ्क्रमितहरूमा यो भेरिअन्ट देखिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले अहिले यसको जोखिमदर कम रहेको जनाएको छ । यद्यपि अधिकारीहरूले स्वास्थ्यको जोखिम समूहमा रहेका व्यक्तिहरूमा जोखिम हुन सक्नेतर्फ सचेत गराएका छन् ।

जाडोयाममा श्वासप्रश्वाससम्बन्धी अन्य समस्या पनि बढ्ने गरेका कारण सचेत रहनुपर्ने विज्ञको भनाई छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१