• प्राकृतिक विपत्तीबाट शिक्षा लिन नसक्दा मानवीय र भौतिक क्षति व्यहोर्नु परेको छ : मुख्यमन्त्री शर्मा
  • काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विगतमा भएका प्राकृतिक विपत्तीबाट शिक्षा लिन नसक्दा अहिले मानवीय र भौतिक क्षति व्यहोर्नु परेको जानकारी दिनुभयो । ‘गोरखाको वारपाकमा गएको भूकम्पबाट शिक्षा लिएको भए अहिले जाजरकोट भूकम्पको क्षति न्यून हुने उहाँले जानकारी दिनुभयो । उहाँले विगतबाट हामीले शिक्षा लिन नसकेको कुरा बताउनुभयो ।

    २६ औँ भूकम्प सुरक्षा दिवस अवसरमा सुर्खेतमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशमा हुने विपद् जोखिमको विश्लेषण गरी आवश्यक पूर्व तयारिमा लाग्नुपर्ने जानकारी दिनुभयो । उहाँले कुरा गरेर होइन व्यवहारिक रुपमै देखिने गरी नीति विधि र कार्यक्रम बनाएर अघि बढ्नुपर्ने जिकिर गर्नुभयो ।

    ‘‘कर्णाली प्रदेश प्राकृतिक विपदबाट हुन सक्ने क्षति र न्यूनीकरणका लागि आम समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र आवश्यक जनशक्ति तयार गरेर मात्र क्षति न्यूनीकरण गर्न सकिन्छ ।,’’ शर्माले भन्नुभयो, ‘‘भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्न र जनचेतनामूलक कार्य अघि बढाइने छ ।समुदायको सकृय सहभागिताले मात्र भूकम्प लगायतका प्राकृतिक विपदको सामना गर्न सकिन्छ ।’’

    भूकम्पबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका कार्य अघि बढाउन संघ, प्रदेश र स्थानीय तहको सहकार्य अपरिहार्य भएको उहाँको भनाइ छ ।

    © 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१