सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् ।

बुधबार (आज) बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभयो ।

उहाँले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने भन्दै दीर्घकालीन र तत्कालिन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।

उनले सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको भन्दै सहकारी सम्बन्धी हाल कार्यरत नियामक संस्थाहरुलाई राम्रा, संकटमा रहेका र डुवेका सहकारीहरुको वर्गीकरण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिनुभयो ।

उहाँका अनुसार सहकारीमा बचतकर्ताले राखेको रकमको सुरक्षामा ध्यान दिन आग्रह गर्दै यसमा तीनवटै तहका सरकारको समन्वयमा प्रभावकारी कदम चाल्नुपर्ने छ ।

सहकारी सम्बन्धी छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालसहित सम्वन्धित मन्त्रालय, विभाग र निकायका अधिकारीहरुको उपस्थिती रहेको थियो ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१