हिमपात भएपछि किसान खुसी

मुगु । कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाहरूमा बिहीबार हिमपात भएको छ । मुगु, हुम्ला, जुम्ला र डोल्पा लगायत उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको हो । लामो प्रतिक्षापछि हिमपात भएकाले अब बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् ।

हिउँदे महिना माघ ढल्किसक्दा पनि हिउँ नपर्दा किसानहरुमा यो वर्षको हिउँदे बाली खेतमै सुकेर जान्छ कि भन्ने चिन्ता थियो । तर हिमपातले किसानलाई आशा जगाएको छ ।

विगतमा मंसिर, पुसबाटै हिमपात हुने गरेको भएपनि यो वर्ष ढिला गरेर हिमपात भएको हो । यो वर्ष माघको १५ कटेपछि बल्ल वर्षकै पहिलो हिमपात भएको छायाँनाथ रारा नगरपालिका–५ का किसान धनबीर कामीले बताए ।

‘पहिले यतिबेलासम्म धेरै हिउँ परिसकेको हुन्थ्यो । मंसिरदेखि नै हिउँ पथ्र्यो, यसपटक माघ लागेपछि बल्ल हिउँ पर्दैछ,’ उनले भने, ‘तैपनि हिउँ परेपछि खेती किसानी गर्ने मान्छेलाई राहत मिलेको छ ।’

हिमपात भएपछि गहुँ उमार्नलाई सजिलो हुने उनले बताए ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१