गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालय सुधार अभियान

विराटनगर । सामुदायिक विद्यालयमा पूर्वाधार र दक्ष जनशक्ति भएर पनि विद्यार्थीले गुणस्तरीय शिक्षा नपाएको अवस्थालाई ध्यान दिंदै सुधारको अभियान सुरु गरिएको छ ।विराटनगर महानगरपालिका–११ बाट सामुदायिक विद्यालय शिक्षा सुधार अभियान सुरु गरिएको हो ।सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न वडा कार्यालयको अगुवाइमा वडाका दुईवटा सामुदायिक विद्यालयमा अभियान सुरू गरिएको विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले जानकारी दिए ।

उनले भौतिक पूर्वाधारको सुधारपछि विद्यालयको गुणस्तर सुधार अभियान सुरु गरेको बताए । पहिलो कार्यकालमा भौतिक विकास निर्माणलाई ध्यान दिएपनि दोस्रो कार्यकालमा शिक्षा, स्वास्थ्य, बालबालिका, पिछडिएको वर्गका क्षेत्रका कामलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

शिक्षा सुधार अभियानअन्तर्गत विराटनगर–११ स्थित जनपथ माध्यामिक विद्यालयमा अभिभावक अन्तरक्रिया गरिएको छ । विद्यालयको गुणस्तर सुधारमा अभिभावकको निगरानी, सुझाव र सहयोग आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले बताए ।

उनले विद्यालयको गुणस्तर सुधारका लागि विभिन्न चरणमा व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रमहरू गरिरहेको उल्लेख गरे ।

विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले शिक्षामा सुधार नभई अरु क्षेत्रको विकास सम्भव नभएको बताए । उनले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि बालबालिकालाई नियमित विद्यालय पठाउन, विद्यालयको निगरानी गर्न, आफ्ना बालबालिकाको पठनपाठनका विषयमा विद्यालयमा शिक्षकहरूसँग सोधपुछ गर्न अभिभावकहरूलाई आग्रह गरे ।

विराटनगर महानगरपालिकाको तथ्यांकअनुसार महानगरभित्रका विद्यालयहरूमा ७० हजार बालबालिकाले शिक्षा लिइरहेका छन् । जसमा संस्थागत विद्यालयहरूमा ४० हजार र सामुदायिक विद्यालयहरूमा ३० हजार विद्यार्थी अध्ययनरत छन् ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरप्रति अभिभावक विश्वस्त नहुँदा सामुदायिकमा भन्दा संस्थागत विद्यालयमा चर्को शुल्क तिरेर विद्यार्थी बढाउन अभिभावक बाध्य भएको भट्टराईले बताए ।

कार्यक्रममा अभिभापक सन्तोष साह, विद्यालयका प्रधानाध्यापक हरि पराजुलीलगायतका वक्ताहरूले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय तह र राजनीतिक दलहरू सक्रिय हुन आवश्यक रहेको धारणा राखेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१