मिलेमतोमा ऋण लिएर चौलागाईंले जग्गामा गरेका थिए लगानी

काठमाडौं । धितोभन्दा करिब एक अर्ब रुपैयाँ बढी रकम ऋण प्रवाह गरेको आरोपमा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने सहितका १० जना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको नियन्त्रणमा छन् ।

प्रभु बैंकमा गाभिएको तत्कालिन सेन्चुरी बैंकको सिइओ रहँदा न्यौपानेले कर्मचारीहरूसँगको मिलेमतोमा धितोभन्दा बढी रकम ऋण प्रवाह गरेको भन्दै सिआईबीले उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

धितोभन्दा करिब एक अर्ब रुपैयाँ बढी रकम दिलाएको अनुसनधानबाट खुलेपछि सिआईबीले न्यौपानेसहित १० जनालाई सात दिन हिरासतमा राखेर अनुसनधान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

तत्कालीन सेन्चुरी बैंकको सिइओ हुँदा न्यौपानेसहितका व्यक्तिले ललितपुरको देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंलाई मिलेमतोमा ऋण दिलाएका थिए । सेन्चुरी कमर्सियल बैंक गत वर्ष प्रभु बैंकमा गाभिएको थियो ।

देउराली बहुउद्देश्यीय सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका चौलागाईं अहिले कारागारमा छन् । उनीसँग अनुसन्धानको सिलसिलामा ब्युरोले सेन्चुरी बैंकको ऋण प्रवाहमा अनियमितता गरेको पाएको थियो ।

चौलागाईं समेतको लगानी रहेका चार वटा कम्पनीमा सेन्चुरी बैंकले ऋण प्रवाह गरेको थियो । ती कम्पनी पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण डिस्टिलरी रहेका छन् ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार ती कम्पनीमा सेन्चुरी बैंकले २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

धितो मूल्यांकनले १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ मात्र ऋण दिनुपर्नेमा न्यौपानेसहितका व्यक्तिले मिलेमतोमा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ बढी दिएको खेलेको छ।

चौलागाईंले सहकारीका बचतकर्ताको दुई अर्ब बढी रकम ठगी गरेको पाइएको छ ।

चौलागाईंले बचतकर्ताले राखेको शतप्रतिशत रकम आफू र आफ्नो परिवारका सदस्यको नाममा जग्गा खरिदमा लगानी गरेको पाइएको हो । उनले राजधानीका विभिन्न स्थानमा ११० रोपनी जग्गा खरिद गरेको अनुसन्धानले देखाएको छ ।

वीरगन्ज महानगरपालिका–५ घर भई हाल ललितपुर–१० कुपन्डोल बस्ने न्यौपानेसहित पक्राउ पर्नेमा राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, तुलसी गौतम र सुनिल बस्नेत छन् ।

चल्तिका बैंकर नै पक्राउ परेपछि वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघमा हलचल मच्चिएको छ ।

प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, सेन्चुरी बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तुल्सीराम गौतमलगायतलाई सीआइबीले प्रक्राउ गरेपछि संघले बुधबार बैठक नै बोलाए छलफल गर्यो ।

बैंठक पछि संघका प्रतिनिधिहरु सीआइबीका प्रमुख, गृहमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर समेतलाई भेट्न पुगेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१