
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालयमा कुटाकुट भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिर पार्टीको कार्यसम्पादन समितिका ठाकुरमोहन श्रेष्ठ कुटिएका हुन् ।
महामन्त्री विक्रम पाण्डेलाई पार्टीको बैठकमा भष्ट्रचारी भनेपछि यो घटना घट्न पुगेको बुझिएको छ । त्यसपछि उत्तेजित महामन्त्री पाण्डेका समर्थकहरूले श्रेष्ठमाथि हातपात गरेका हुन् ।
पार्टीको कार्यसम्पादन समितिको आज पार्टीको केन्द्रीय कार्यालयमा बसेको थियो ।
आफूलाई भ्रष्टाचारी भनेपछि पाण्डे बैठक बहिष्कार गर्ने बताएका थिए तर अध्यक्ष राजेन्द्र लिङदेनले सम्झाएपछि उनी बैठकमा बस्न माने । बहिष्कार गरेर पुनः बैठकमा बसेका पाण्डे एकछिनपछि बाहिर गए र केहि समयमै फर्किए । त्यतिबेला बैठक विश्राम गर्ने अध्यक्ष लिङदेनले बताए र खाना खान बाहिरतिर लागे ।
त्ससपछि अकस्मात लिङ्देनको कार्यकक्षबाहिर एक हुल मानिसहरु दौडिदै आउँछन । अगाडी ठाकुरमोहन श्रेष्ठ हुन्छन् भने पछाडी पाँच छ जना युवा । ती युवाहरु विक्रम पाण्डेका समर्थक रहेको स्रोतले बताएको छ ।
लिङदेनको कार्यकक्ष छिर्न खोज्दा तानेरै श्रेष्ठलाई मुक्का प्रहार हुन्छ । उनी बल्लतल्ल फुत्केर लिङदेनको कार्यकक्षभित्र छिर्छन् ।
भित्रबाट बुद्धिमान तामाङ, दीपक सिंह लगायतका नेताहरू बाहिर निस्केर उत्तेजित भिडलाई रोक्छन् ।