
काठमाडौं । कुमारी बैंककाविरुद्ध पोखराकी पार्वती सापकोटाले राष्ट्र बैंकमा निवेदन दिएकी छन् । पोखरा ९ कास्कीकी सापकोटा पारिजात एग्रो टुरिज्म प्रालिकी अध्यक्ष हुन् । उनले कम्पनीको नाममा तत्कालीन एनसीसी बैंक (हालको कुमारी बैंक)बाट १५ वर्षका लागि तीन करोड ऋण लिएकी थिइन् । सापकोटाले ऋण लिएदेखि नियमित रुपमा ३ लाख ५० हजार ४ सय ४५ मासिक किस्ता तिर्दै आएकोमा हालसम्म २० लाख रुपैयाँमात्र साँवा तिरिएको बैंकले बताएपछि उनी आफू पीडित भएको भन्दै राष्ट्र बैंकसम्म आइपुगेकी हुन् ।
पारिजात एग्रो टुरिजम प्रालिको जग्गा खरिद शिर्षक अन्तर्गत ३ करोड अपुग रकम कम्पनीका सञ्चालक पार्वती सापकोटा र डिल्ली प्रसाद आचार्यसहित अन्य साझेदार रामचन्द्र पन्त, दिनेश पाण्डेयलगायतले तत्कालीन पोखराको न्युरोड शाखाको एनसीसी बैंकबाट ऋण लिएका थिए । त्यसपश्चात् रामचन्द्र पन्तले नियमित किस्ता तिर्दै आएका थिए । त्यही बैंकबाट पार्वती सापकोटाले सन् २०१५ मा ९८ लाख होम लोन लिएकी थिइन् ।
त्यतिमात्र होइन उनले ४ वटा हायर पर्चेज कर्जा अन्तर्गत १ करोड ४४ लाख रकम पनि उपभोग गर्दै आएको र सो को किस्ता पनि बुुझाउँदै आएकी थिइन् । उनले पाँच महिना अघि नै गाडी कर्जा चुक्ता गरेकी थिइन् । तर हालसम्म पनि उनको गाडी बैंकले फुकुवा गरेको छैन । उल्टो बैंकले आफूलाई धम्की दिने गरेको गुनासो उनको छ ।
पारिजात एग्रो टुरिजम प्रालिका अन्य सदस्यलाई पीजीमा लिन नमानी अरुको भार ममाथि थोपरी तेरो घर लिलाम गर्छौँ भनेर धम्की दिएको गुनासो सापकोटाको छ । उनी भन्छिन्, ‘पहिला २०१५ मा मैले लिएको ९८ लाख होम लोनलाई बिना निवेदन रिसेड्युल गर्दा ५ लाख गायब भएको र त्यसबेलाका बैंक सीईओ रमेश अर्याल र कर्जा रिकभरि समिर अचार्यले घरको कर चुक्ता गर्दा मिलाइदिने आश््वासन दिएका थिए । तर अहिले आएर उनीहरु आनकानी गरिरहेका छन् । हालको कुमारी बैंकको सीईओ र कर्जा रिकभरी घर लिलाम गर्छौँ भन्दै धम्की दिन्छन् ।’
अहिले नयाँ आएका सिईओलाई भटेर समस्या बताउँदा झन् समस्या बढी भएको पनि सापकोटाको तर्क छ । उनी भन्छिन् ‘ऋण लिएको ५४ महिनामा १ करोड ६० लाख रकम बुझाउँदा बैकंले २० लाख मात्र घटाएको छ । अब जसरी पनि मेरो घर लिलामी गर्ने उनीहरुको योजना छ ।’
बैंकले सुरुमा ऋण दिँदा पनि आफूबाट एक महिनाको अग्रीम किस्ता खाएको आरोप पनि सापकोटाको छ । बैंकले बिना तालिका बढाएको ब्याज र बिना जानकारी पुनर्तालिका गर्दा फरक परेको ५ लाख रुपैयाँको हिसाबमा पनि बैंक गैरजिम्मेवार देखिएको पीडितको आरोप छ ।