
काठमाडाैं । गत शुक्रबार काठमाडौं आएकी भारतीय अभिनेत्री दीपिका चिखलिया स्वदेश फर्किएकी छन् ।
एक सामाजिक संस्थाको आमन्त्रणामा नेपाल आएकी उनी आइतबार दिउँसो भारत फर्किएकी हुन् ।
जनजाति कल्याण आश्रम नेपालले उनलाई काठमाडौं ल्याएको थियो । उक्त संस्थाद्वारा संचालित आमाको माया छात्रावासको शनिबार सम्पन्न १४ औं वार्षिकोत्सव समारोहमा दीपिका सहभागी बनिन् ।
आश्रमले विपन्न, सामाजिक सुविधाबाट वञ्चित बालबालिकालाई शिक्षा र स्वास्थ्य प्रदान गर्दै आएको छ ।
नेपाल आर्मी अफिसर्स क्लबमा आयोजित समारोहमा विशिष्ठ अतिथिका रूपमा उपस्थित दीपिकाले ३० वर्षपछि फेरि नेपाल आउन पाउँदा खुशी लागेको बताइन् ।
रामायणको हरेक भागबाट केही न केही कुरा सिक्ने धारणा उनले राखिन् । असल मार्गमा लाग्न रामायणले प्रेरणा दिने उनले बताइन्। विपन्न वर्गका बालबालिकालाई खुलेर सहयोग गर्न समेत आव्हान गरिन् ।
आइतबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पूजाआजा गरेकी उनी दिउँसो २ बजेको फ्लाइटमा स्वदेश फर्किएको जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय महासचिव प्रेम थुलुङ राईले जानकारी दिए ।
५८ वर्षीया दीपिका भारतीय टेलिशृंखला ‘रामायण’ मा ‘सीता’ को भूमिका निर्वाह गरेर चर्चामा आएकी थिइन् । हिन्दी, मलयालम, बंगाली, तमिल फिल्ममा समेत अभिनय गरेकी उनी भारतीय लोकसभाकी पूर्वसांसदसमेत हुन् ।