‘अन्य’ पहिचानको नागरिकता लिन यस्तो सास्ती

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई फागुन २२ गते नियम अनुसार नागरिकता प्रमाणपत्र महलमा ‘अन्य’ कायम गरी प्रतिलिपि उपलब्ध गराउन सिफारिस गर्यो ।
सुभाष आलेले नागरिकता प्रमाणपत्रमा लिङ्गको महलमा पुरुष रहेकोमा उक्त लिङ्ग महलमा ‘अन्य’ गराउनका लागि सिफारिस माग गरेका थिए। वडा कार्यालयको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय पुगेका आलेलाई ‘अन्य’ पहिचानमा नागरिकता दिनुको सट्टा जिल्ला प्रहरी कार्यालय चैत २२ गते सर्जमिन मुचुल्का गर्न पत्र पठायो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रशासन कार्यालयलाई चैत २८ गते स्थलगत सर्जमिन मुचुल्का पठायो। वर्ष २०८० को अन्तिम दिन आले नागरिकता लिन सबै कागजातसहित प्रशासन कार्यालय पुगे। तर, प्रशासनले नागरिकता दिएन।
अन्यमा नागरिकता जारी गर्न नागरिकता ऐनमा संशोधन भैसकेको छ। देशभरबाट १५ सय भन्दा बढीले नागरिकता महलमा ‘अन्य’ उल्लेख गरेर नागरिकता लिएका छन्। वडा कार्यालयको सिफारिस अनुसार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले अन्यको नागरिकता लिन थालेको एक दशक नाघिसकेको छ।

चिकित्सकको प्रमाणपत्र माग गर्ने जिल्ला प्रशासन कार्यालयविरुद्ध तेस्रोलिङ्गी आनिक रानाले २०७३ मा सुनिलबाबु पन्तसँग सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन। २०६९ पुस १६ मा गृह मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार ‘अन्य’ मा नागरिकता लिन जाँदा चिकित्सकको प्रमाणपत्र माग गरेपछि आनिक सर्वोच्च अदालत पुगेकी थिइन।सर्वोच्चले २०७३ मा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको माग अनुसार लिङ्गको महलमा अन्य उल्लेख गरेर नागरिकता दिन चिकित्सकको प्रमाणपत्र नखोज्न आदेश दिएको थियो ।

तेस्रोलिङ्गी राना सर्वोच्चको आदेश अनुसार रुपन्देही जिल्लामा ‘अन्य’ उल्लेख गरेर नागरिकता लिने पहिलो व्यक्ति बनिन्। ‘सिडिओले कुरा सुन्नै चाहनु भएन, अन्यमा नागरिकता लिन सिफारिस मात्रै भए पुग्ने हो,’रानाले भनिन्,‘सर्जमिन मुचुल्का गर्न लगाएर नागरिकता लिन जाँदा कुरै नसुनी फिर्ता पठाउनुभयो ।’

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चैत २२ गते सुभाष आलेको नागरिकता प्रमाणपत्रमा रहेको फोटो र हालको फोटो फरक पर्नको कारण के हो ? सत्य तथ्य ब्यहोरा सर्जमिन मुचुल्कामा उल्लेख गराइदिन पत्र पठाएको थियो ।
प्रशासन कार्यालयमा पठाएको सिफारिसमा ‘निजको फोटो प्रमाणित गरी नागरिकता प्रमाणपत्र जारी गर्दा तथा लिङ्ग महलमा अन्य कायम गरी नागरिकता प्रतिलिपि कायम गरेमा कुनै फरक पर्नेछैन।’
आले सानो छँदा स्वभाव केटाको जस्तो देखिएकाले नागरिकता प्रमाणपत्र जारी गर्दा लिङ्ग केटा राखी नागरिकता प्राप्त गरेकोमा आलेको स्वभाव परिवर्तन भई २०८० जेठ २१ गते भारतस्थित ओलमेक हेल्थ केयरमार्फत सर्जरी गराएको सर्जमिन मुचुल्कामा लेखिएको छ।

आले तेस्रोलिङ्गी अर्थात् अन्य भएको हुँदा हालको अनुहार र पहिलेको अनुहार नमिलेको ब्यहोरा सहिसाँचो भएको मुचुल्का सिफारिस गरिएको छ। अन्य कायम गरी नागरिकता प्रतिलिपि दिँदा कुनै फरक नपर्ने सिफारिससहित सम्पूर्ण कागजपत्र बुझाउँदा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कानुन नै नभएको भन्दै फर्काइदिएको तेस्रोलिङ्गी अधिकारकर्मी आनिक रानाले बताइन ।

लिङ्ग परिवर्तन गरेकालाई मन्त्रिपरिषद्को निर्णयमा परिवर्तित लैङ्गिक पहिचान अनुसारको नागरिकता दिने गरेको प्रशासन कार्यालयले लिङ्ग परिवर्तन गरेकालाई तेस्रोलिङ्गी अर्थात् नागरिकता महलमा अन्य उल्लेख गर्न नमानेको बुझिएको छ । यसबारे बुझ्न प्रमुख जिल्ला अधिकारी अर्याललाई फोन सम्पर्क गर्दा रिसिभ भएन ।

लिङ्ग परिवर्तन गरेकाहरूले जिल्ला प्रशासन कार्यालयको सिफारिससहित गृह मन्त्रालयमा निवेदन दिनुपर्छ। निवेदन अनुसार शल्यक्रिया गरी पुरुषबाट महिला र महिलाबाट पुरुष बनेकाहरूले महिला या पुरुषकै नागरिकता पाउने व्यक्ति विशेष हुने निर्णयको चौतर्फी आलोचना हुँदै आएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१