देशभर तापक्रम वृद्धि,तराई र उपत्यकामा आजदेखि पाँच दिन हिटवेव, उच्च सर्तकता अपनाउन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि पाँच दिनसम्म तराईका भूभागमा हिटवेव (तातो हावा तातो लहर) आउने भएकाले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

विगत केही दिन देखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको विभागले उल्लेख गरेको छ ।

लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको तथा देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले भनेको हो ।

आजदेखि आगामी ५ दिन (२०८१ बैशाख १६ गते देखि २०८१ बैशाख २० गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको छ । तराईका साथै पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले चेतावनी सहित विभागले अलर्ट रहन आग्रह गरेको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न विभागले निम्न उपायहरू सुझाएको छ ।

उपायहरू :
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी ननिस्कने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन विभागले भनेको छ ।

यस्तै , आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना पनि छ ।

आइतबार राती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१