काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादह घर भएका ईश्वरी पाण्डे रहेका छन् । प्रहरीका अनुसार उनीहरूले जापान पठाइदिने भन्दै करिब तीन करोड ठगी गरेका हुन् ।
नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी पुतलीसडकमा नियोनी एजुकेशन कन्सल्टेन्सी दर्ता गरी नारायण बहादुर राई नाममा चलाउँदै आएका उनीहरुले जापान पठाउने भनी चार लाखदेखि सातलाख रुपैयाँसम्म उठाउने गरेको प्रहरीले जनाएको छ ।
राजन श्रेष्ठले नारायण बहादुर राईको नागरिकता र ईश्वरी पाण्डेले पर्वराज पाण्डेको हराएको नागरिकताको दुरुपयोग गरी बैंकमा खाता खोली रकम जम्मा गर्ने गरेका थिए । ईश्वरी पाण्डेले पर्वराज पाण्डेको नागरिकताको विवरण राखी बैंकमा खाता खोली केवाइसी समेत अपडेट गरेका छन् । कन्सल्टेन्सी संचालक इश्वरी पाण्डेले पर्वराज पाण्डेको नागरिकता दुरुपयोग गरी जुन किसिमको आर्थिक अपराध गरेका छन् बैक जस्तो संवेदनशील संस्था अपराधिहरुले यति सजिलै दुरुपयोग गर्न सक्नु बैंकको गम्भीर लापरवाही हो ।