आर्थिक अपराधको केन्द्र सानिमा बैंक, अलग–अलग व्यक्तिकाे नागरिकता र फाेटाेबाट पनि खुल्छ खाता !

काठमाडौं । उदयपुरका नारायणबहादुर राई करिब १२/१५ वर्ष अघि ज्यामी काम गर्थे । भैँसेपाटीबाट बुढानीलकण्ठ काम गर्न साइकलमा जाँदा उनको नागरिकतासहितको पर्स हरायो । केही समयको अन्तरालमा उनले नागरिकताको प्रतिलिपि निकाले ।

अहिले पठाओ चलाएर दैनिक गुजारा चलाउँदै आएका उनै राईविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनी विलखबन्दमा परे । आफूले केही गल्ती नै नगरी पक्राउ पूर्जी जारी हुँदा डराए पनि ।

प्रहरीले उनलाई बोलाएर सोधपुछ गर्‍यो । २१९ जनाबाट करिब ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ पूर्जी जारी भएका राईमाथि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीको सोधपुछपछिमात्र उनले बल्ल थाहा पाए उनको हराएको नागरिकता दुरुपयोग भएछ । त्यही नागरिकताको कारण उनी प्रहरी हिरासतसम्म पुगे ।

केवाइसीमा सानिमा बैंकको बदमासी

उनको हराएको नागरिकता रामेछाप घर भएका राजन श्रेष्ठले फेला पारे । श्रेष्ठले भेट्टाएको नागरिकताको दुरुपयोग गरे । उनले नारायणबहादुर राईको नाममा सानिमा बैंकमा खाता खोले । खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखे तर नागरिकता नारायणबहादुर राईको राखे ।

यो केसमा सानिमा बैंकले यतिसम्म लापरवाही गर्यो कि खाता खोल्ने व्यक्तिले दिएको डकुमेन्ट प्रमाणीकरण नगरी केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग–अलग हुँदासमेत खाता खोलिदियो । यसरी ठगी गर्न खोलिएको खातामा प्रयोग भएका कागजपत्र बैंकले प्रमाणीकरण नगर्दा कतै बैंक नै ठगीमा संलग्न छ कि भन्ने आशंका पैदा भएको छ । जसका कारण नारायणबहादुर राईले हैरानी ब्यहोर्नुपर्यो ।

नारायणबहादुर राईको नागरिकता फेला पारेर राजन श्रेष्ठले बैंकमा खातामात्र खोलेनन् उनकै नागरिकता प्रयोग गरेर पुतलीसडकमा एक कन्सल्टेन्सीसमेत दर्ता गरे । उनले विभिन्न व्यक्तिहरुलाई विदेश लैजाने प्रलोभनमा पारेर त्यही भेट्टाएको नागरिकता प्रयोग गरेर खोलिएको सानिमा बैंकको खातामा पैसा जम्मा गर्न लगाई ठगी गरे । उनको यही धन्दाका कारण असली नारायणबहादुर राई पक्राउ समेत परे । प्रहरी अनुसन्धानपछिमात्र बल्ल खुल्न आयो ठगी गर्ने त राजन श्रेष्ठ रहेछन् । नारायणबहादुर राईको त नागरिकता दूरुपयोग भएको रहेछ ।

केवाइसी फर्ममा राजन श्रेष्ठको फोटो राखेर नागरिकताचाहीँ नारायणबहादुर राईको राख्दा पनि सानिमा बैंकले खाता वैधानिक भनेर कारोबार गराइराख्नु गलत भएको र यसमा बैंकले पनि लापरबाही गरेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई बताउँछन् । उनी भन्छन् ‘बैंकहरुले यस्ता कागजपत्र ध्यान दिएर हेरेमा किर्ते कागजात र ठगी गर्ने व्यक्तिहरु छिटै समातिन सक्थे । यसमा बैंकहरुको पनि लापरवाही देखिन्छ ।’

नागरिकता दुरुपयोग भएर समस्यामा परेका नारायणबहादुर राई पनि बैंकहरुले यस किसिमको लापरवाही नगरिदिए हुने तर्क गर्छन् । उनी भन्छन् ‘हाम्रो नागरिकता यस्तो ठगहरुको हातमा परेछ । यसरी अरुको नागरिकताले बैंक खाता खोल्दा बैंकले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने हो तर बैंकको लापरवाहीले अहिले हामीजस्ता सामान्य मजदुरी गरेर खाने मान्छे समस्यामा पर्‍याैँ ।’

आफ्नो नागरिकताका कारण कयौँ मानिस ठगिएको र आफ्नो नाम बदनाम भएकोमा उनी चिन्तित पनि छन् । उनी भन्छन् ‘बैंकमा पनि नारायणबहादुर राईको नाममा नै पैसा जम्मा हुने रहछ । यो सबै त मैले नै गरेजस्तो देखियो । बैंक अलि जिम्मेवार भैदिएको भए आज यो समस्या आइलाग्ने थिएन कि ?’

मुख्य नाइके कारबाहीमा, सानिमा बैंकलाई कसले गर्ने कारबाही ?

ठगीमा संलग्न राजन श्रेष्ठलगायत उनका सारथि अहिले पक्राउ परिसके । उनीहरुविरुद्ध ठगी, किर्ते मुद्धामा प्रहरीले कारबाही पनि सुरु गरिसक्यो तर खाता खोल्ने व्यक्तिले दिएको डकुमेन्ट प्रमाणीकरण नगरी केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग–अलग हुँदासमेत खाता खोलिदिने सानिमा बैंकलाई कसले कारबाही गर्ने ?

सामान्यतया ठगीलगायत किर्ते काम नहोस्, खाता सञ्चालकको असली पहिचान खुलोस् भनेर नै बैंकले केवाइसी फर्म भराउने गर्छ । तर सानिमा बैंकले गलत कागजपत्र राखेर ठगीमा संलग्न भएकालाई साथ दिने गरी केवाईसी अपडेट गरेको छ । कहिँ कतै बैंकको यो हदसम्मको लापरवाही मिलिभगतमा भएको आशंका पनि गर्न सकिन्छ । यसबारे प्रहरी प्रशासन, राष्ट्र बैंकलगायतका निकायले छानबिन गर्न जरुरी छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१