
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको अतिक्रमणमा परेको जग्गा फिर्ता लिन उच्चस्तरीय छानबिन समिति बनाएर अगाडि बढ्ने बताएकी छन् ।संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बिहीबार भएको छलफलमा उनले यस्तो बताएकी हुन् । जग्गा फिर्ता ल्याउन छानबिन समिति गठन गर्ने भन्दै उनले यसका साथै विद्यार्थीहरुको नतिजा प्रकाशन लगायतको समस्यामा त्रिविको टिमले काम गरिरहेको बताइन् ।
उनले भनिन्, ‘त्रिविको जग्गाको विषयमा मैले देखेको एउटा उच्चस्तरीय छानबिन समिति बनाएर अगाडि बढ्न सकिन्छ जस्तो लागेको छ । त्यसका काम अगाडि बढाउदै छांै । अर्को विद्यार्थीहरुको नतिजा समयमा नहुने भन्ने विषयमा पनि त्रिविको टिमले काम गरिरहेको छ । हामीले विद्यालय शिक्षा र उच्च शिक्षाको जुन ग्यापहरु हुन्छ, त्यसको बारेमा पनि समन्वयमा काम गरिरहेका छौ । त्यो पछि शैक्षिक क्यालेन्डर उच्च शिक्षाको मात्र होइन, १२ को परीक्षासँग पनि समन्वय गरेर जान सकिन्छ कि भनेर काम गर्दै छौ ।’
त्रिभुवन विश्वविद्यालयले अतिक्रमणमा परेको आफ्नो जग्गा न फिर्ता लिन सकेको छ न त भाडा उठाउन बारम्बार सञ्चार माध्यमले यो विषय उठाउने गरेका छन् । त्यसैले मन्त्री श्रेष्ठको ध्यानाकर्षण भएको हो ।उनले शिक्षा क्षेत्र व्यस्थित राख्न काम भइरहेको बताइन । मन्त्रालय निर्देशिका तयारीमा जुटेको जानकारी उनले बताइन । जुन निर्देशिकाअन्तर्गत स्कुल र कलेजहरु सञ्चालन हुन्छ । त्यसमा मन्त्रालयको विषय भनेको निगरानीको भएको उनको भनाइ छ ।
‘त्यसको खाका तयार पारेर प्रशासनले त्यसका लागि टोली बनाएर अनुगमनमा जाँदैछ,’ मन्त्रालयले दिने बजेटको पनि मनिटरिङ् पनि गर्नुपर्ने उनले बताइन । ‘हामीले खर्च गरिरहेको पैसाको परिणाम आइरहेको छ कि छैन ? त्यो अध्ययन गर्नुपर्छ । यो पैसा पठाएर मात्र नहुने रहेछ ।’