‘एभरेष्ट’ र ‘एमडीएच’ ब्राण्डको मसलामा क्यान्सरको जोखिम देखेपछि बिक्रि रोक्का, प्रयोग नगर्न आग्रह

काठमाडाैं । हरेक नेपालीको भान्साघरमा हुने एभरेष्ट मसला खानका लागि अयोग्य ठहर भएको छ । मसलामा किटनाशक एथिलिन अक्साइड पाइएपछि सरकारले यो मसलामाथि प्रतिबन्ध लगाएको हो । क्यान्सरमा रिसर्च गर्ने एजेन्सीले एथिलिन अक्साइडलाई ग्रुप १ ‘कार्सिनोजेन’मा राखेको छ । कार्सिनोजेन यस्तो पदार्थ हो, जसले क्यान्सर गराउने जोखिम हुन्छ ।

एभरेष्टसँगै एमडीएच ब्राण्डको मसला पनि सरकारले प्रतिबन्ध गरेको छ । यी दुवै ब्राण्डको मसलामा क्यान्सर गराउने तत्व भेटिएपछि मसलाको आयात, बिक्री बितरण तथा उपभोगमा प्रतिवन्ध लगाइएको हो । यी दुवै मसला भारतबाट नेपाल आयात हुने गर्छन् ।

एमडीएच ब्राण्डको ३ थरी मसला र एभरेष्ट ब्राण्डको १ थरी मसलाको आयात अनुमति तत्कालको लागि स्थगित गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको हो ।

विभागले एमडीएच ब्राण्डको मद्रास करि पाउडर, साम्भर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला पाउडर र एभरेष्ट ब्राण्डको फिस करी मसलाको आयातमा प्रतिबन्ध लगाएको हो ।

विभागले बजारमा यो मसला उपलब्ध भएको भए आयातकर्तालाई बजारबाट फिर्ता लैजान पनि निर्देशन दिएको छ । साथै, राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई उक्त मसलामा पाइएको भनिएको इथाइलिन अक्साइड रेसिड्युको परीक्षण पनि उच्च प्राथमिकतामा राख्न पनि आफ्ना कार्यालयहरुलाई निर्देशन दिएको छ ।

विभागले भारतको ति दुवै कम्पनीको मसलाको नमूना लिएर गहन परीक्षण गर्ने काम पनि सुरु गरेको छ । उक्त परीक्षणको प्रतिवेदन आउन समय लाग्ने बताइएको छ । यी दुई ब्राण्डका मसलामा क्यान्सर गराउने रसायन रहेको समाचार आएपछि नेपाली उपभोक्तामा चासो र चिन्ता बढेको थियो । दुवै ब्राण्डका मसला नेपाली बजारमा लोकप्रिय छन् ।

हङकङ र सिंगापुरले ति दुवै ब्राण्डको मसलामा अनुमतियोग्य स्तरभन्दा बढी कार्सिनोजेनिक कीटनाशक इथाइलिन अक्साइड पत्ता लगाएपछि बिक्रीमा प्रतिबन्ध लगाएका थिए ।

इथाइलिन अक्साइड रंगविहीन ज्वलनशील ग्यास हो । यसको प्रयोग कृषि, स्वास्थ्य तथा खाद्य प्रशोधन उद्योगमा कीटनाशकका रुपमा गरिन्छ । मसला उद्योगमा सुक्ष्मजीवले पु¥याउने असर र किराबाट मसलामा हुन सक्ने क्षति न्यूनीकरणका लागि यसको प्रयोग हुन्छ । विभिन्न स्वास्थ्य संगठनहरुले यसलाई कार्सिनोजेनको वर्गमा राखेका छन् । यो रसायनको खतरालाई मध्यनजर गर्दै धेरै मुलुकले यसको प्रयोगबारे कडा कानुनसमेत बनाएका छन् ।

भारतीय मसलाको गुणस्तरबारे यसअघि अमेरिकामा पनि प्रश्न उठेको थियो । सन २०२३ मा अमेरिकी खाद्य तथा औषधीसम्बन्धी नियामकले साम्भार तथा गरम मसला बजारबाट फिर्ता लैजान भनेको थियो । ती मसला प्रयोगशालामा परीक्षण गर्दा सालमोनेला पाइएको थियो । यो ब्याक्टेरियाका कारण झाडापखाला, पेट दुख्ने, ज्वरो आउने र रिँगटा लाग्ने जस्ता समस्या उपभोक्तामा देखिएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१