नेदरल्याण्ड्सकी २९ वर्षीया जोरायाले रोजिन इच्छामृत्यु, के थियो कारण ? (भिडियो सहित)

  • Soniya parki
  • काठमाडौं । नेदरल्याण्ड्सकी २९ वर्षीया युवती जोराया टेर बेकले इच्छामृत्यु रोजेकी छन् । तनावबाट पीडित जोरायालाई नेदरल्याण्ड प्रशासनले इच्छामृत्युको अनुमती दिइएको छ । उनले साढे तीन वर्षदेखि नेदरल्याण्ड प्रशासनलाई इच्छामृत्युका लागि मनाउने प्रयास गरेकी थिइन । अन्तः उनलाई इच्छामृत्युको अनुमती दिइएको छ ।

    जोरया लामोसमयदेखि अटिजम र असहनीय मानसिक समस्यासँग जुधिरहेकी थिइन् । हेर्दाखेरी उनी शारीरिक रूपमा पूर्ण रूपमा फिट देखिन्छिन् । तर उनी मानसिक रोगबाट ग्रसित छिन् । असहनीय मानिसक समस्याबाट छुटकारा पाउन् उनले निकै संघर्ष गरे पनि उनले छुटकारा पाउन नसकेर इच्छामृत्यु रोजेकी हुन् ।

    अटिजम भएको व्यक्तिले आफैलाई प्रहार गर्छ र चोट पु¥याउँछ । उसलाई आत्महत्या गर्ने सोच आइरहन्छ । जोरायाले अब आफ्नो समस्याको समाधान नभएको महसुस गर्दै इच्छामृत्युको माग गरेकी थिइन् ।

    शारीरिक रूपमा पूर्ण रूपमा फिट देखिएकी जोरायाले रोजेको इच्छामृत्युको स्वीकृतिमा प्रश्न भने उठिरहेको छ । मानसिक रोगबाट ग्रसित मानिसहरुले इच्छामृत्युलाई अपनाउने गरेको बताउँछन् । जोराया बाल्यकालदेखि नै चिन्ता र आघातको सिकार थिइन् ।

    जोरायाले द गार्डियनलाई बताए अनुसार उनको समस्या बाल्यकालबाट सुरु भएको थियो । उनी क्रोनिक डिप्रेसन, एन्जाइटी, ट्रमा र पर्सनालिटी डिसअर्डर जस्ता समस्याबाट पीडित हुन थालिन् । यसबाहेक उनलाई अटिजमको समस्या पनि थियो । यसैमा उनी आफैँलाई दुःखी बनाउन थालिन् ।

    जोरायाले आफ्नो रोगसँग लड्न इलेक्ट्रोकन्भल्सिभ थेरापी (इसीटी) को ३० भन्दा बढी उपचार गराइन् । यसमा बिरामीलाई विद्युतीय झट्का दिइन्छ । तर उनको स्वास्थ्यमा कुनै सुधार नआएको जोरायाले बताएकी छन् ।

    १० वर्षसम्म विभिन्न तरिकाले उपचार गराएपछि निराश भएर अन्ततः स्वस्थ जीवन जिउने आशा त्यागेको जोरायाले बताइन् । त्यसपछि उनले इच्छामृत्युका लागि आवेदन दिएकी थिइन् । उनले इच्छामृत्यु प्राप्त गर्न त्यति सजिलो नभएको बताइन् ।

    इच्छामृत्युलाई वैधानिकता दिने पहिलो राष्ट्र नेदरल्याण्ड्स हो । त्यहाँ सन् २००१ मा इच्छामृत्युलाई कानुनी मान्यता दिइएको थियो । नेदरल्याण्डमा, इच्छामृत्युको लागि स्वीकृति पाएपछि, डाक्टरहरूले सामान्यतया अन्तिम मिनेटको प्रक्रिया सम्बन्धित व्यक्तिको घरमा गर्छन् । यस क्रममा बिरामीलाई विशेष प्रकारको इन्जेक्सन दिइन्छ र केही मिनेटमै उनको मृत्यु हुन्छ ।

    विशेष कुरा यो हो कि यो मामिला मृत्युपछि पनि छानबिन हुन्छ । चिकित्सकको तर्फबाट अलिकति पनि लापरबाही गरेको पाइएमा १२ वर्षसम्म कैद हुनसक्छ । सन् २०२२ मा नेदरल्याण्डमा यस कानुनी विधिबाट कुल ८ हजार ५ सय १ जनाले इच्छामृत्यु रोजेका थिए ।

    जोराया जर्मनीको सिमाना नजिकै नेदरल्याण्डमा बस्छिन् । द गार्डियनका अनुसार यो महिना उनको मृत्यु हुनसक्छ ।

    मानसिक स्वास्थ्य समस्याबाट पीडित मानिसहरुको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । विश्व स्वास्थ्य संगठनले गरेको अध्ययन अनुसन्धानअनुसार विश्वमा मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्ति करिब २५ देखि ३० प्रतिशत रहेका छन् । यस्तै आर्थिक वर्ष २०७०/७१ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा कुल जनसङ्ख्याको ३० प्रतिशत अर्थात ८५ लाख मानिसहरु मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् । मानसिक स्वास्थ्य समस्याबाट प्रभावित मानिसहरुको सही तथ्याङ्क समयसमयमा सार्वजनिक गरी सही व्यवस्थापन गर्न अपरिहार्य छ ।

    संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०१६/२०३० ले पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।

    अटिजम र असहनिय मानसिक स्वास्थ्य समस्या साना बालबालिकादेखि युवायुवती र वृद्धवृद्धा सबैमा हुन सक्छ । यस्तो समस्याबाट ग्रसित मानिसहरुबाट टाढा नभागी मायाको आभास दिलाउँ । अपहेलना नगरौँ र समयमै स्वास्थ्य विशेषज्ञको सल्लाह बमोजिम उपचार गरी मानसिक पीडाबाट ग्रसित मानिसहरुको जीवन सुनौलो बनाउँ ।

     

     

    © 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१