यसबर्ष १६ लाख पर्यटक नेपाल आउनेछन् : मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितवहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरीरहेको बताएका छन् ।गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङले कोरोना महामारीपछि सबैभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको र सोहिअनुसार काम भइरहेको बताए ।

उनले भने, ‘यसअघि कोभिडका कारण पर्यटक आउने संख्या घटेको थियो, सन् २०२३ मा १० लाख पर्यटक मात्र नेपाल आउनु भएको थियो । सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ काम भइरहेको छ ।’लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दू धर्माबलम्वी पर्यटकको संख्या धेरै रहेको र बाँकी यहाँको प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने पनि उनको भनाइ छ ।‘यहाँ कतिपय तस्वीरहरु आफैंले भोगेका राखिएका छन् । कतिपय पुराना इतिहास झल्काउने खालका तस्वीर देखें । यसले इतिहासको विभिन्न कालखण्डको स्मरण गराउने काम गरेको छ । गोरखापत्रको यो काम प्रशंसनीय छ । पुर्खाका पालाका तस्वीर देख्न पाउँदा खुशी लाग्यो ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१