लन्डनमा भव्य रुपमा मनाइयो बुद्ध जयन्ती

काठमाडौ । दक्षिण पूर्वी लन्डनमा २५६८औं बुद्धजयन्ती भव्य समारोहका बीच मनाइएको छ ।बुद्ध फाउण्डेसन यूकेको आयोजनामा आइतबार वुलीचको जनरल गर्डन स्क्वायरमा आयोजित कार्यक्रममा सयौं नेपाली तथा स्थानीय ब्रिटिस समुदाय सहभागी भएका थिए ।

भगवान गौतम बुद्धको शान्ति सन्देश र नेपाली कला, संस्कृति एवं पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बुद्धको सन्देश प्रचारप्रसारका लागि बुद्ध फाउन्डेसनले गर्दै आएका पहलको प्रशंसा गरे ।

उनले विश्वसम्पदा सूचीमा समावेश लुम्बिनीको पर्यटन प्रवर्धनमा यस्ता कार्यक्रमले सघाउ पुयाउने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रस्तुतिहरुले नेपालको सामाजिक एवम् सांस्कृतिक विविधता झल्काएको राजदूत आचार्यले उल्लेख गरे ।स्थानीय रोयल बरो अफ ग्रीनवीचका नवनिर्वाचित मेयर काउन्सिलर जीत रानाभाटले कार्यक्रमले बेलायतको नेपाली समुदायलाई यहाँका अन्य समुदायसँग अन्तरघुलन गराउन र बेलायतमा नेपाली समुदायको पहिचान स्थापित गर्न सहयोग पुयाउने आशा व्यक्त गरे ।

उनले यस्ता कार्यक्रमहरुलाई स्थानीय बरोले सधैं सहयोग गर्ने पनि बताए ।कार्यक्रममा बौद्ध लामा गुरु खेम्पो कर्मा छुल्ठिमले बौद्ध दर्शनसम्बन्धि प्रवचन दिएका थिए भने ११ वर्षीया बालिका आर्या श्रेष्ठले मन्तव्य दिएकी थिइन् ।आयोजक बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले भगवान बुद्धको जन्म नेपालमा भएको हो भन्ने संदेश दिन र उहाँको संदेश फैलाउन कार्यक्रम आयोजना गरिएको बताए ।
मूर्ति र क्यानभासको आकर्षण

नेपालबाट ल्याइएका साढे तीन फिट अग्लो बुद्ध मूर्ति र बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति ह्दयरत्न बज्राचार्य एवं प्राध्यापक कर्ण महर्जनले तयार पारेको बुद्धको जन्मदेखि मृत्युसम्मका विवरणयुक्त ‘क्यानभास’ कार्यक्रममा आकर्षण बनेका थिए ।ध्वजापतका, बुद्धका मूर्तिहरु, बौद्ध दर्शनसम्बन्धी चित्रकलादेखि नेपालको पर्यटन प्रवर्धनका लागि राखिएका सामग्रीले कार्यक्रमस्थल सजिएको थियो ।
बालबालिकालाई बुद्ध दर्शनसम्बन्धि जानकारी दिने उद्धेश्यले पुस्तक र पोष्टरहरु प्रदर्शन गरिएको थियो ।

सोहि अवसरमा बालबालिकामाझ बुद्ध र लुम्बिनी झल्काउने चित्रकला प्रतिष्पर्धा गराएर पुरस्कृत गरिएको थियो ।त्यस्तै, पासा पुचः यूकेद्वारा धिमे बाजा र लाखे नाच देखाइएको थियो । बालबालिकाले विभिन्न जातीय भेषभूषाको आकर्षक प्रदर्शनी गरेका थिए ।लन्डनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्ड समेतको सहयोगमा लन्डनमा बुद्धजयन्ती कार्यक्रम मनाउँदै आइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१