क्रिकेटमा अराजकता फैलाउन खोज्नेहरुविरुद्ध पारस खड्को चेतावनी

काठमाडौं । नेपाल क्रिकेटको अभिभावकीय संस्था नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारख खड्काले संस्थाभित्रकै सदस्यहरुले नेपाली क्रिकेटमा अराजकता फैलाउन खोजिरहेको बताएका छन् । उनले त्यसविरुद्ध कानूनी काराबाही गर्ने चेतावनी दिएका छन् ।

सोमबार सचिव खड्काले पछिल्लो नौं महिनायता क्रिकेट भित्र आफ्नो नेतृत्वले गरेका केही सराहनीय कार्यको फलस्वरुप संस्था सही मार्गमा अघि बढिरहेको उल्लेख गर्दै संस्थाको हित नचाहने जिम्मेवार व्यक्तिहरुले आफू र संस्थाविरुद्ध अराजगता फैलाएको बताएका हुन् । उनले त्यस्ता गतिविधिविरुद्ध छानबिन गरी कानूनी कारबाहीमा जाने चेतावनी पनि दिएका छन् ।

‘कयौं चुनौती र कठिनाइहरुलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैंमा महत्वपूर्ण छ । यद्यपि, यि सबैकाबीच संघका अध्यक्ष, सचिवलगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउंदै आफ्नो व्यक्तिगत लाभ र प्रयोजन हत्याउने उद्देश्यसहित संघ भित्रका केही सदस्यहरुले हरसम्भव प्रयास गरिरहनु भएको कार्य दुःखद छ’ खड्काले आफ्नो सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

खड्काले नेपाली क्रिकेटलाई खेलाडीका रुपमा आफ्नो लगानीको २० वर्षलाई स्मरण गर्दै नेपाललाई क्रिकेटिंङ राष्ट्रका रुपमा आत्मनिर्भर बनेको हेर्ने सबैको सपनालाई साकार पार्न आफू लागेको बताएका छन् ।

तर, पछिल्लो समय उनी र संस्थाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेको विषयलाई लिएर चर्को आलोचना भइरहेको बेला उनले आफ्नो तर्फबाट सामाजिक संजालमार्फत स्पष्ट पारेका हुन् । तर, उनले व्यक्तिगत लाभका लागि आफ्नो र संस्थाको नाम बद्नाम गर्न खोज्ने संस्थाभित्रकै सदस्यलाई भने कानूनी कारबाहीको दायरामा ल्याउने बताए ।

‘मैले २० वर्ष देशको लागि खेलाडीका रुपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउनेगरी केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहिन वक्तव्यहरुको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिनसहित संस्थागत पद्दतिबाट छिट्टै नै कानूनी उपचार समेत खोजिने छ,’ सचिव खड्काले भनेका छन् ।

खड्काले व्यक्तिगत, राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई समर्थन गरिरहन समेत आग्रह गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१