लाली गुराँस सहकारीको ठगी धन्दाः ६ अर्ब ३० करोड अपचलन, २२ हजार बचतकर्ताको बिचल्ली

काठमाडौं । लाली गुराँस सहकारी संस्थाले विभिन्न प्रलोभन देखाई संकलन गरेको ६ अर्ब ३० करोड रकम अपचलन गरेको छ । आकर्षक ब्याज दिने र चाहिएको बेला निक्षेप रकम झिक्न सकिने विश्वास दिलाई २६ जिल्लाका २२ हजार बचतकर्ताको रकम अपचलन गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए ।

आइतबार पत्रकार सम्मेलन गरि रकम हिनामिना गर्ने लाली गुँरास सहकारीका संचालकसहित ४ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृत कुमार अर्याल र सदस्य कदमबाबा जोशी प्रधान रहेका छन् ।

झण्डै ३ महिना अघिदेखि निरन्तर अनुसन्धान गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंका विभिन्न स्थानबाट असार १४ गते नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर, ललितपुरमा चैत्र १ गते ठगी कसुरमा मुद्धा दर्ता भए अनुरुप उनीहरुलाई पक्राउ गरि अनुसन्धान तथा कारबाहीको लागि प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।

लाली गुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ ३१ वर्ष नेपाल बैंक लिमिटेडमा प्रमुख व्यवस्थापकका रुपमा समेत काम गरेका थिए ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१