
काठमाडाैं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ५२.५७ अंकले बढेको छ । नेप्से २.४० प्रतिशतले बढेर २२५७.५९ विन्दुमा बन्द भएको छ ।
नेप्से परिसूचक दुई वर्ष यताकै उच्च विन्दुमा पुगेको हो । यो २०७९ जेठ ४ गते यताको उच्च विन्दु हो ।
बिहीबार कारोबार रकम पाँच महिनायताकै उच्च छ । यसअघि गत माघ ७ गते सात अर्ब ६७ करोडको सेयर कारोबार भएको थियो ।
बिहीबार सात अर्ब आठ करोड छ लाख ९८ हजार १४६ रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार सात अर्ब ६२ करोड चार लाख ९८ हजार ५२० रूपैयाँको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५४ करोड रूपैयाँ वृद्धि भएको हो ।
यस दिन ३०९ वटा धितोपत्रको दुई करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर किनबेच भएको हो ।
आइतबार २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३६ वटाको घटेको छ । यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
यसदिन अधिकांश जलविद्युत कम्पनीको सेयर मूल्य बढेको छ ।
रिडी पावर, माण्डु हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, नेशनल हाइड्रोपावरको मूल्य सर्किट लेभलमा बढेको छ ।
रिडी पावर र माण्डु हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ । उक्त कम्पनीहरूको सेयर मूल्य क्रमशः १८३ रूपैयाँ ७० पैसा र एक हजार ३५७ रूपैयाँ ४० पैसा कायम भएको छ ।
यस्तै, हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य ९.९३ प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य १४६ रूपैयाँ १० पैसा कायम भएको छ ।
१०.१५% प्राइम डिबेञ्चर २०८४ को मूल्य सर्वाधिक ४.१२ प्रतिशतले घटेको छ ।
उक्त डिबेञ्चरको मूल्य एक हजार ४५ रूपैयाँ १० पैसा कायम भएको छ ।
यस्तै, बलेफी हाइड्रोपावको मूल्य ३.६८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४०६ रूपैयाँ कायम भएको छ ।
आइतबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।
कम्पनीको प्रतिकित्ता मूल्य ८३१ रूपैयाँमा २४ करोड २७ लाखको सेयर कारोबार भएको छ ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ७५८ रूपैयाँमा २१ करोड २७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।
यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक ३.७४ प्रतिशतले बढेको छ भने जलविद्युत समूहको परिसूचक ३.३० प्रतिशतले बढेको छ ।