
काठमाडाैं । सेयर बजारको बढ्ने क्रम मंगलबार पनि जारी रहेको छ । आज नेप्से परिसूचक ७५.३३ अंक (३.०२ प्रतिशत)ले बढेर दुई हजार पाँच सय ६३.४३ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि क्रमशः दुई र तीन प्रतिशतभन्दा धेरैले बढेका छन् ।
कुल ३१७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँबराबरको कारोबार भएको छ । पछिल्ला केही दिनहरूमा कारोबार रकम लगातार १० अर्बभन्दा माथि रहँदै आएको छ ।
आज २२० कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको मूल्यमा मात्रै गिरावट आएको छ । आधा दर्जन बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा गणपति लघुवित्तको सेयरले सर्वाधिक पाँच प्रतिशतले मूल्य गुमाएको छ ।
बोटलर्स नेपाल (बालाजु), समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयरहाउजिङ कम्पनी, साहस ऊर्जा र ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
समूहगत रूपमा पनि नेप्सेका सबै समूहको सूचक बढेका छन् । व्यापार समूह पाँच प्रतिशतभन्दा धेरैले बढ्दा जीवन बिमा र निर्जीवन बिमामा चार प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको छ।