
पाेर्चुगल । पोर्चुगलको लिस्बनमा सञ्चालित अवैतनिक महाबाणिज्य दूतावासको सम्पूर्ण सेवा बन्द गरिएको छ । सेवा बन्द भएपछि पाेर्चुगलमा रहेका नेपालीहरु मारमा परेका छन् ।
अवैतनिक नेपाली महाबाणिज्य दूत मकरबहादुर हमालले एक विज्ञप्ति जारी गरेर सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिएपछि त्यहाँ रहेका नेपालीहरु मारमा परेका हुन् । यही जुलाईबाट आफ्नो कार्यअवधि सकिएको जानकारी गराएर हमालले सेवा बन्द गरिएको जनाएका छन् ।
नविकरणका लागि नेपाल सरकार तथा नेपाली राजदूतावास पेरिससमक्ष पत्राचार गरिएको र पोर्चुगलमा राजदूतावास स्थापनाका लागि राजदूतसमेत नियुक्त भएकोले नेपाली राजदूतावास पेरिसबाट आगामी दिनमा काम कारबाही बन्द गर्न मौखिक निर्देशन दिएपछि जुलाई ३० बाट लागु हुने गरी अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालय बन्द गरिएकाे बताइएकाे छ ।
कार्यालय बन्द हुने भएपछि नेपालीका दैनिक समस्याहरु समाधान गर्न, अड्डा अदालतमा बहस, पैरवी गर्न र विभिन्न सरकारी निकायसँग समन्वय गर्ने कार्यसमेत स्थगित भएकाे छ । कार्यालय बन्द भएपछि विशेष गरेर पाेर्चुगलमा भर्खरै गएका नेपालीहरु मारमा परेकाे पाेर्चुगलमा बस्दै आएका केशब बास्ताेला बताउँछन् ।
उनी भन्छन् ‘बाणिज्यदूत मकरबहादुर हमाल र फ्रान्समा रहेकाे नेपाली राजदूतावासकाे ठाडाे आदेशमा बिना जानकारी अवैतनिक महाबाणिज्य दूतावासको काम बन्द हुँदा नयाँ आएका नेपालीहरुकाे भविष्यमाथि नै खेलवाड भएकाे छ ।’ कतिपय कागजीकाम नहुँदा नेपालबाट आएका श्रमिकहरुले काम गर्न नपाएकाे पनि उनकाे भनाइ छ । उनले नेपाली श्रमिकलाई मकरबहादुर हमाल र फ्रान्समा रहेकाे नेपाली राजदूतावासले ‘टाउकोमा टेकेर मुटुमा छुरा हानेभन्दा कडा प्रहार गरेकाे’ टिप्पणीसमेत गरेका छन् ।
पोर्चुगलमा राजदूतावास स्थापनाका लागि राजदूत समेत नियुक्त भएपनि सबै प्रकृया पूरा हुन केही महिना लाग्ने भएकाले आगामी केही महिनासम्म पोर्चुगलमा रहेका नेपालीहरु विभिन्न अत्यावश्यक सेवालिनबाट वञ्चित भएका छन् ।
नेपाल सरकार परराष्ट्र मन्त्रालयले सन् २०१४ मार्चमा पोर्चुगलको लिस्बनमा अबस्थित हुने गरी अवैतनिक नेपाली बाणिज्यदूतावासको स्थापना गरेको थियो । दूतावासको स्थापना भएयता पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुले अवैतनिक नेपाली बाणिज्यदूतावास नियमित रुपमा सेवा लिँदै आएका थिए ।