अर्थतन्त्र ठिक राख्न मन्त्रालय र राष्ट्र बैंकबीच ट्युनिङ मिल्नु राम्रो : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको भन्ने आरोप गलत भएको दाबी गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उनले राष्ट्र बैंक आफ्नो अलग कानुन अन्तर्गत सञ्चालन हुने संस्था भएका कारण अर्थ मन्त्रालयले यो गर, त्यो गर भन्न नमिल्ने बताए । उनले मुलुकको अर्थतन्त्रलाई ठिक ढंगले सञ्चालन गर्न राष्ट्र बैंक र अर्थ मन्त्रालयको ट्युनिङ मिल्नु राम्रो रहेको बताए ।

उनले भने,‘ राष्ट्र बैंक आफ्नो अलग कानुन अन्तर्गत सञ्चालन हुने संस्था हो । राष्ट्र बैंकलाई अर्थमन्त्रालयले केही गर्दैन् । यो गर, त्यो गर भन्न मिल्दैन। तर राष्ट्र बैंक र मन्त्रालय एकआपसमा मिलेर काम पनि गर्छन् । एकले अर्कालाई सघाउँछन् । त्यसैले राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचमा रियल ट्युनिङ मिल्नु नै पर्छ। अथवा मूलुकको अर्थतन्त्रलाई ठिक ढंगले सञ्चालन गर्न मिलेर अगाडि बढ्नुपर्छ।’ उनले सार्वजनिक ऋण र खर्चको सवालमा सरकार अत्यन्त अनुशासित हुने प्रतिबद्धता पनि जनाए।

बैठकमा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले चालू आर्थिक वर्षको मौद्रिक नीतिप्रति असहमति जनाउँदै राष्ट्र बैंकले चाहिने भन्दा बढी खुकुलो नीति ल्याएको बताए। उनले अर्थमन्त्रीमा विष्णु पौडेलको उपस्थितिले राष्ट्र बैंकसँग ट्युनिक मिलेको छ भन्ने हल्ला बजारमा आएको भन्दै व्यङग्य गरेका थिए।

‘अत्याधिक खुकुलो मौद्रिक नीति लिंदा अर्को समस्या आउने खतरा रहन्छ। तथापि, राष्ट्र बैंकको क्षेत्राधिकार भित्रको कुरा हो। म अर्थमन्त्री हुँदा गभर्नरसापले पहिला धेरै खुकुलो मौद्रिक नीति अवलम्बन गर्नुभयो, फेरि पछि धेरै टाइट गर्नुभयो। अर्थतन्त्र सहज हुँदा सेयर मार्केट पनि १८ सयको विन्दुमा झरेको नेप्से सूचक मेरै पालामा २२ सयको अंकसम्म पुग्यो। अहिले जुन मौद्रिक नीति आएको छ। अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेलको उपस्थितिले ट्युनिक मिलेको छ भन्छन् बजारमा । मौद्रिक नीति सबै राम्रो आएका छ म भन्दिन् ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१