
काठमाडाैं । पोर्चुगलको राजधानी लिस्बनमा रहेको अवैतनिक महावाणिज्यदूतावासको सेवा बन्द भएपछि नेपालबाट पाेर्चुगल पुगेका नेपालीहरु मारमा परेका छन् ।
महावाणिज्यदूतावासले एक सूचनामार्फत केही दिनअघि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द भएको जनाएको थियाे । फ्रान्सको पेरिसस्थित नेपाली दूतावासबाट कामकारबाही र सेवा बन्द गर्न निर्देशन आएको जानकारीसहित कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको सूचनामा भनिएकाे थियाे ।
सरकारले परराष्ट्रका सहसचिव प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि राजदूत सिफारिस गरिसकेकाे छ । यसअघि पोर्चुगलका लागि राजदूत नियुक्त भएका सनिल नेपाल भने पोर्चुगल आउन नपाइ फिर्ता बोलाइएका थिए । हालसम्म नेपाली दूतावास नभएको पोर्चुगलमा महावाणिज्यदूतावासले विगत १० वर्षदेखि राहदानीलगायतका कन्सुलरसम्बन्धी सेवा दिइरहेकाे थियाे ।
राजदूत नियुक्तिपछि काम कारवाही सुरु गर्न केही समय लाग्ने भएका कारण यतिबेला पाेर्चुगलमा भएका नेपालीका दैनिक समस्याहरु समाधान गर्न, अड्डा अदालतमा बहस, पैरवी गर्न र विभिन्न सरकारी निकायसँग समन्वय गर्ने कार्य स्थगित भएकाे छ । कार्यालय बन्द भएपछि विशेष गरेर पाेर्चुगलमा भर्खरै गएका नेपालीहरु अझ बढी मारमा परेको लामाे समयदेखि पाेर्चुगलमा बसाेबास गरिरहेका केशब बास्ताेला बताउँछन् ।
उनी भन्छन् ‘नियुक्त भएका नयाँ राजदूत नआउँदासम्म अवैतनिक महावाणिज्यदूतावासले नै सेवा दिनुपर्थ्याे तर यहाँ हजाराैँ नेपाली अलपत्र पर्नेगरी पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई र पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले एक्कासी कन्सुलर सेवा बन्द गराएर हैरानी दिए ।’
सरकारले पाेर्चुगलका लागि राजदूत नियुक्त गरेपछि राजदूत बस्ने घर खाेज्ने कामसहित अन्य कामका लागि आफूले सकेकाे गरिरहेकाे पनि बास्ताेला बताउँछन् । उनी भन्छन् ‘पाेर्चुगलमा रहेका नेपालीहरु मारमा नपरुन् भनेर सक्दाे प्रयास गरिरहेकाे छु ।’ उनले आफूले नयाँ नियुक्त भएर आउने राजदूत र त्यहाँ रहने कार्यालयका लागि आफूले सक्ने सहयाेग गरिरहेकाे र कार्यालयका लागि घरकाे व्यवस्था पनि गरिसकेकाे बताएका छन् ।
सरकारले सन् २०१४ मा मकरबहादुर हमाललाई अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो भने सन् २०२० मा महावाणिज्यदूतमा पदोन्नति गरेको थियो । महावाणिज्यदूत हमाल र फ्रान्सका राजदूत भट्टराईले भने आफूहरुले एक्कासी कन्सुलर सेवा बन्द गराएकाे नभइ आफूहरु प्रक्रियागत नै गएकाे बताउँछन् । हमाल राजदूत नियुक्त भएपछि स्वत: कार्यभार सकिएकाे र आफ्नाे कार्यावधि जुलाइमा सकिएकाे बताउँछन् भने भट्टराई हमालकाे कार्यावधि सकिएका कारण थपेर निरन्तरता दिनका लागि दूतावाससँग समन्वय र सहजीकरण गर्न भनिएको बताउँछन् ।
यद्यपी, पाेर्चुगलकाे अवैतनिक महावाणिज्यदूतावासको सेवा बन्द हुँदा ठूलाे संख्यामा नेपालीहरु मारमा परेका छन् ।