सिड्नीबाट बेपत्ता सुभाषको खोजीका लागि नगर प्रमुख खरेल दूतावासमा

काठमाडौं । अष्ट्रेलियाको सिड्नीबाट बेपत्ता भएका नेपाली युवा सुभाष बोलाखेको खोजीका लागि काभ्रेको पाँचखाल नगरप्रमुखले सक्रियता देखाएका छन् ।

उनको अगुवाइमा नेपालस्थित अष्ट्रेलियन राजदूतावासमा पुगेर राजदूत फेलिसिटी भोल्कलाई निवेदन बुझाइएको छ ।

गत जुलाई २७ तारिखका दिन अन्तिम पटक बेक्स्ली क्षेत्रमा देखिएका उनलाई प्रहरीले खोजी गरिरहेको छ । परिवारका सदस्यसहित प्रमुख मेयरको टोलीले राजदूत वोल्कलाई भेटेर तदारुकताका साथ बोलाखेको खोजी गरिदिन आग्रह गरेको थियो ।

‘राजदूतज्यूले सकरात्मक प्रतिक्रिया दिनुभएको छ । नेपालबाट अष्ट्रेलियन सरकारलाई गर्ने पहल गर्छौ र तुरुन्तै पत्र पठाउँछौं भन्नुभयो । हामी आशावादी छौं,’ मेयर खरेलले भने ।

सो अवसरमा नगरप्रमुख खरेलले राजदूत भोल्कलाई ‘सुभाष’को कागजातसहित खोजबिनका लागि निवेदन दिएका थिए । औपचारिक भेटघाटलगत्तै दूतावासको सक्रियतामा सिड्नीस्थित प्रहरी निकायले आफ्नो वेबसाइटमा सुभाष हराएको बारे निजको हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रहसमेत गरेको छ ।

यसैगरी, बोलखे परिवारले पनि सुभाषको खोजबिनमा सहयोग गर्न सिड्नीस्थित नेपाली समुदाय र अन्य सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ । न्यूसाउथवेल्स प्रहरीले उनको खोजी भइरहेको जनाए पनि परिवार भने नेपालमा चिन्तित छ ।

१० महिनाअघि अष्ट्रेलिया अध्ययनका लागि आएका सुभाष निरन्तर परिवारकै सम्पर्कमा थिए । उनीसँगै बस्दै आएका एक जना साथी विवाहका लागि नेपाल गएको समयमा घटना भएका कारण उनी कसैलाई केही नभनी सम्पर्क बाहिर छन्।

२८ वर्षीय सुभाषलाई कोग्रा प्रहरीले सिड्नी सिविडी, कोग्रा, बालमियान, बेक्स्ली क्षेत्रमा आवत जावत गरेका कारण यिनै क्षेत्रमा खोजी अघि बढाएको जनाएको छ ।

काभ्रेको पाँचखाल नगरपालिका–७ का बोलखे २० दिनदेखि परिवारसँग सम्पर्कविहीन भएपछि नगरप्रमुख खरेलले खोजीका लागि राजदूत भोल्कसँग अनुरोध गरेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१