
काठमाडाैं । भारतले थप २५१ मेगावाट बिजुली किन्ने भएको छ । काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गरी नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप विद्युत लैजाने जनाएको हो ।
त्यस्तै, भारतले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत खरिद गर्ने सम्झौता गर्ने भएको छ। मध्यकालीन सम्झौतापछि दैनिक ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) भारतले बिजुली लैजान्छ ।
२५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रूपैयाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता तथा खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ ।
सन् २०२१ अक्टोबरमा नेपालले पहिलो पटक भारतमा ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति पाएको थियो ।
नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत बिक्री गर्ने परिकल्पना गरेको छ ।