सेवा सुविधामा असमानता भएकाे भन्दै देशभरका वैज्ञानिक कर्मचारीहरु आन्दाेलनमा

काठमाडाैं । तलबलगायतका सेवा सुविधामा असमानता भएकाे भन्दै नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक कर्मचारीहरु आन्दाेलनमा उत्रिएका छन् ।

वैज्ञानिक तथा प्राविधिक/प्रशासनिक समूहका समकक्षी कर्मचारीहरुबीच तलबलगायतका सेवा सुबिधाहरु विगतमा समान रहेकोमा ०५७ साउन १ देखि प्रशासनिक समूहका केहि कर्मचारीहरुले आफ्नो समकक्षी वैज्ञानिक कर्मचारीभन्दा सिनियर हुन वैज्ञानिक एस-१ र एस-२ पद/तहमा नगन्य कर्मचारी भएको मौका छोपेर परिषद् व्यवस्थापनलाई प्रलोभनमा पारी आफ्नोभन्दा वैज्ञानिक कर्मचारीहरुको तलबमान कम हुने गरी निर्णय गर्न लगाएको कारण वैज्ञानिक कर्मचारीहरु माथि अन्याय भएको उनीहरुकाे ठहर छ ।

यसरी अन्यायमा परेका वैज्ञानिक कर्मचारीहरुले विगत देखि नै तलबमानमा गरिएको त्रुटीलाई सच्याई पाउँ भनि परिषद्समक्ष मौखिक र लिखित रुपमा पहल गरे पनि विभिन्न बहाना देखाएर परिषद्ले वैज्ञानिकको पक्षमा कुनै ठोस कदम नचालेकाे पनि कर्मचारीहरु बताउँछन् ।

सम्पूर्ण वैज्ञानिक कर्मचारीहरुले ०८० चैत १५ गते उच्च अदालत पाटन समक्ष न्यायको लागि मुद्दा दायर गरेकोमा ०८१ जेठ २ गते रिट निवेदक सरहका समान समकक्षी तहका प्राविधिक/प्रशासनिक कर्मचारीहरु भन्दा निज रिट निवेदकहरुलाई कम हुने गरी आधारभूत तलबमान कायम हुनु असमान र विभेदकारी भएकोले ‘०८१ साउन ४ गते बाट लागु हुनेगरी रिट निवेदक सरहका समान समकक्षी तथा प्राविधिक/प्रशासनिक कर्मचारीसँग समान हुने गरी समानताको आधारमा तलबमान निर्धारण गरी कार्यान्वयन गर्नु गराउनु भनि विपक्षीका नाउँमा परमादेश जारी हुने ठहर्छ’ भनि फैसला गरेकोमा अहिलेसम्म फैसला कार्यान्वयन गर्नतर्फ परिषद् व्यवस्थापन उदासीन देखिएको छ ।

यसरी विगतमा समान रहेको तलबमानलाई विगार्नदेखि हाल अदालतको आदेश पालना गर्न नदिने प्रशासनिक कर्मचारीहरुको कारण निकम्मा बनेको परिषद् व्यवस्थापनले राजीनामा दिनु पर्ने, अदालतको आदेश तत्काल कार्यान्वयन गर्नु पर्ने, समकक्षी प्रशासनिक कर्मचारी सरह वैज्ञानिक कर्मचारीहरुलाई साधन स्रोतको वितरण गर्नु पर्ने र अनुसन्धान गर्ने उचित वातावरण सिर्जना गर्नु पर्ने मागसहित देश भरिका वैज्ञानिक कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

यथाशिघ्र आफ्नो माग पूरा नभए जस्तोसुकै कदम चाल्न पनि तयार रहेकाे आन्दोलनकारीहरुले बताएका छन् ।

आन्दाेलन अन्तर्गत कर्मचारीहरुले भदाै ५ गतेदेखि केन्द्रीय कार्यालयसहित नेपाल कृषि अनुसन्धान परिषद्का सम्पूर्ण कार्यालयहरुमा अति आवश्यक गतिविधिबाहेक सम्पूर्ण कार्यालयकाे कामकाज बन्द गर्ने, केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने, अन्य कार्यालयमा पेन डाउन गर्नेलगायतका संघर्ष गर्ने बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१