भारतीय प्रधानमन्त्री मोदी पोल्याण्ड र युक्रेनको भ्रमणमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले पोल्याण्ड र युक्रेनको भ्रमणमा रहेका छन् ।

उनी पोल्याण्डको भ्रमण पूरा गरेर शुक्रबार युक्रेन जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । युक्रेन पुग्न मोदीले १० घण्टा लामो रेल यात्रा गर्ने छन् ।

सन् १९९२ मा भारत र युक्रेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो भ्रमण हुनेछ । रुससँग चलिरहेको युक्रेन युद्धकाबीच सारा विश्वको नजर प्रधानमन्त्रीको यो भ्रमणमा छ । यसैबीच, संयुक्त राष्ट्र प्रमुखले प्रधानमन्त्री मोदीको युक्रेन भ्रमणले युद्ध अन्त्य गर्न मद्दत गर्ने आशा व्यक्त गरेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेर युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि पनि छलफल गर्ने बताइएको छ । झण्डै तीन दशकअघि दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो युक्रेन भ्रमण हो ।

अमेरिकाले प्रधानमन्त्री मोदीको युक्रेन भ्रमणलाई महत्वपूर्ण रहेको बताएको छ । त्यसअघि प्रधानमन्त्री मोदीले पोल्यान्डमा युद्ध समाप्त गर्नका लागि वार्ताको कूटनीति अपनाउनुपर्नेमा जोड दिएका थिए । उनले युक्रेन र पश्चिम एसियामा शान्ति प्रयासमा सहयोग गर्न भारत तयार रहेको बताए । युक्रेन र पश्चिम एसियामा शान्ति र स्थायित्वको प्रारम्भिक पुनर्स्थापनाका लागि मित्र राष्ट्रहरूलाई हरसम्भव सहयोग उपलब्ध गराउन भारत तयार रहेको प्रधानमन्त्री मोदीले बताएका थिए ।

वार्सामा पोल्यान्डका समकक्षी डोनाल्ड टस्कसँगको वार्तापछि सञ्चारमाध्यमसँग कुरा गर्दै मोदीले युक्रेन र पश्चिम एसियाको द्वन्द्व सबैका लागि गहिरो चिन्ताको विषय भएको बताएका थिए ।युक्रेनका राष्ट्रपति जेलेन्स्कीको कार्यालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको राष्ट्रिय झण्डा दिवसको दिन अगस्ट २३ मा युक्रेनको औपचारिक भ्रमण गर्ने छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१