दशगजामा सडक निर्माणमा आएका भारतीयलाई सशस्त्रले लखेट्यो

काठमाडौ । दशगजामा सडक बनाउन सुरु गरेका भारतीयलाई सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षण(डिएसपी)ले त्यहाँबाट धपाएका छन् ।

आइतबार बिहानै सडक निर्माण गर्न आएका भारतीय नागरिकलाई डिएसपी महेश विष्ट नेतृत्वको टोलीले अवरोध गर्दै त्यहाँबाट धपाएका हुन् ।झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा रहेको प्रस्तावित गुल्मका डिएसपी बिष्टले एसएसबीको संरक्षणमा घरेलु औजार लिएर सडक निर्माण गर्न आएका भारतीयलाई त्यहाँबाट धपाएका हुन् ।

नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमा स्तम्भ १२४ नम्बरको सीमा पिल्लर उत्तरतर्फ नेपालको उग्रनारायण बस्ती र दक्षिणतर्फ भारतको जोरबारी बस्ती रहेको छ । त्यसको नजिकै भारतीय सीमा सुरक्षा बलको उपस्थितिमा भारतको जोरबारीका स्थानीयहरुले शनिबार एकसय मिटर सडक निर्माण गरेका थिए । आइतबार बिहान पुनः सडक निर्माण गर्न जोरबारीका स्थानीय आएपछि डिएसपी बिष्टले अवरोध गरेका हुन् ।

नेपालका तर्फबाट उग्रनारायण बस्तीका स्थानीय, कचनकवल, सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोलीले सडक निर्माण गर्ने कामको प्रतिवाद गरेको थियो । यस क्रममा केही समय बिवाद उत्पन्न भएको स्थानीयले बताएका छन् ।

भारतीय एसएसबी कदुभिटाका जेआर भाटले धम्कीपूर्ण शब्दमा गुल्म प्रमुख बिष्टलाई बाटो निर्माणमा कुनै गलत नभएको, दशगजा क्षेत्र भनेको दशगजा मात्र हो र दशगजा छाडेर भारतले बाटो निर्माण गर्न पाउने बताउँदा बिष्टले त्यसको प्रतिवाद गरेको बताएका छन् ।

प्रतिवादमा विष्टले दशगजा क्षेत्रभित्र कुनै संरचना बनाउन नदिने जिकिर गरेका थिए । त्यसका लागि नेपाल सरकारबाट निर्देशन आएको खण्डमा मात्र अवरोध नगर्ने चेतावनी दिएपछि भारतीय पक्ष पछि हटेको थियो ।

विवाद समाधानका लागि खनेको बाटो पहिलाकै जस्तो संरचनामा लाने सहमति भएको थियो । नेपाली र भारतीय सुरक्षाकर्मी तथा दुबै देशका स्थानीयवासीको संलग्नतामा खनेको सडक पुरिएको हो । विवादपछि भारतीय पक्षले सडक निर्माण नगर्ने भएको बताइएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१