इथानोल मिश्रणको नीतिमा सरकार अघि बढिसक्यो:मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढिसकेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजले सोमबार राजधानीमा आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत बहस’ कार्यक्रममा मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको बताएका हुन् ।

मन्त्री भण्डारीले भने, ‘नेपाललाई वार्षिक आवश्यक चिनी तीन लाख मेट्रिकटन आवश्यक पर्छ । एक लाख ८० हजार मेट्रिक टन आयात भएको छ । तरपनि बजारमा अभाव छ । भोलि यही नियति नेपाल आयल निगमले भोग्ने त होइन । नेपालमा अमेरिका वा अन्य देशबाट आयात हुने मकै १० हजार मेट्रिकटन आउँछ । आयात गरेर हामीले इथानोल बनाउने हो । त्यसपछि उपभोक्तामा जाँदा त्यसको मूल्य कति हुने ? १० हजार मेट्रिकटन इथानोल नबनाउँदा आइरहेको छ ।

करिब एक अर्बको आसपासमा आयात भइरहेको छ । इथानोल बनाउने हो भने त्यसको दोब्बर बढी ल्याउनुपर्ला । हामीसँग उत्पादन छैन । आयातलाई २० प्रतिशत कम गर्नसक्ने तहमा छौँ । उत्पादन छ, आयात प्रतिस्थापन गर्दैछौं । २० प्रतिशत योगदान गर्छौँ । उत्पादन गर्छौँ भन्ने तहमा छौँ भने मन्त्रालयको विशेष प्राथमिकतामा रहेको इथानोल मिश्रणको विषयमा मन्त्रालय सहमत छ । विनियमावली बनिसकेको छ । मूल्य तोक्न बाँकी छ । त्यो पनि एक महिनाभित्र टुग्याउँछौं । त्यसपछि उत्पादनसँग १० प्रतिशतमा जाने हो भने दुईलाख प्रत्येक दिनको लागि हामीसँग छैन ।

सरकारको प्राथमिकतामा रहेको कार्यक्रम प्रतिकुलतामा भएपनि सुरु गर्न चाहन्छौँ । मूल्य चाँडै तोक्छौं । यो एक महिनाभित्र सरकारले नीतिगत रूपमा टुँग्याउनेपर्ने विषयहरूलाई टुग्याउँछौं । वैदेशिक लगानीमा इथानोल उत्पादन गर्ने प्रस्तावहरू मन्त्रालयमा आएका छन् । कसरी उत्पादन गर्ने चिनी उत्पादक संघले मात्रै सम्भव छ ।’इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जना गर्न समेत सहयोग पुग्ने उनको भनाइ छ ।

साथै उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जना हुने बताए ।उनले इथानोल उत्पादनले मुलुकको कृषि क्षेत्रमा फाइदा हुने बताए । उनले मुलुकमा जलविद्युत उत्पादनको ठुलो सम्भावना भएपनि तत्काल आवश्यकता अनुसार उत्पादन गर्न नसक्ने भन्दै वातावरणमा पनि राम्रो हुने बताए ।

उनले १० प्रतिशतसम्म इथानोल प्रयोग गर्दा सवारी साधनको इन्जिन पनि परिवर्तन गर्न नपर्ने अवस्था रहेको बताए ।नेपाल आयाल निगमका प्रमुख कार्यकारी अधिकृत डा.चण्डिकाप्रसाद भट्टले इथानोल उत्पादन र प्रयोग हुँदा इन्धनको खपत घट्ने बताए । उनले इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताए ।

उनले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताउँदै पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बनेपनि विविध कारणले विलम्ब हुन गएको बताए । उनले यसलाई कार्यान्वयनमा लैजाने पहल भइरहेको र केही महिनामै उत्पादन सुरु हुने पनि बताए ।
उनले इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसँगै कार्यविधि पनि बनाउनुपर्ने भएकाले उद्योग विभागले कार्यविधिका लागि स्वीकृति दिइसकेको बताए । उनले इथानोलको प्रयोगले दैनिक चार लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१