• २०८३ असार १४
  • 2026 June 28, Sunday

विकास योजनाहरुको अनुगमनमा मन्त्री काफ्ले, समयमै काम सक्न निर्देशन

  • २०८१ भदौ २४, सोमबार १७:४५

काठमाडौं । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले लगानी अनुसारका विकास योजनाहरु समयमै सम्पन्न गराउन निर्देशन दिएका छन् ।

विकास योजनाहरु समयमै सम्पन्न नहुने पूरानै समस्या दोहोरिएपछि मन्त्री काफ्लेले विभिन्न मन्त्रालय अन्तर्गतका योजनाहरुको अनुगमन तथा योजना हेर्ने कार्यालयका प्रमुखहरुसँग छलफल थालेका हुन् ।

उनले सोमबार हेटौंडा–६ स्थित युवा तथा खेलकुद मन्त्रालयको निर्माणाधिन गौरीटार रंगशाला तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको हेटौंडा–१० मा रहेको दुध पाउडर प्लान्ट र प्रादेशिक कृषि थोक बजारको अनुगमन गर्दै सरकारको लगानी अनुसार काम नहुनु बिडम्बना भएको बताए ।

‘प्रदेश सरकारले लगानी गरे अनुसारको काम नहुनुमा विकासका योजनाहरु कार्यान्वयन गर्ने मन्त्रालय र कार्यालयको कमजोरी हो’ युवा तथा खेलकुद मन्त्रालयका अधिकारीहरुसँग भएको छलफलमा मन्त्री काफ्लेले भने, ‘निर्माण कम्पनीले गुणस्तरीय काम नगरे कार्वाही गर्नुपर्यो ।’
उनले अघि भने, ‘विकास योजनाहरु समयमै सम्पन्न गराउन के समस्या छ भन्नुहोस । योजना आयोग वा अन्तै केही कुराले काम रोकिएको छ भने म मिलाउँछु । राजनीतिक समस्या परे समाधान गर्छु । तर, विकासका योजनाहरु नरोक्नुस् ।’

थप बजेटका लागि आवश्यक पर्ने सबै व्यवस्था मन्त्रालयले गर्ने भन्दै मन्त्री काफ्लेले भोलिदेखि नै काम थाल्न निर्देशन दिए ।
मन्त्रालयका सचिव कृष्ण मैनालीले लगानी अनुसार काम नभए प्रदेश सरकारप्रति जनताले प्रश्न खडा गर्नेे भन्दै यस्तो स्थिति सृजना हुन नदिने दायित्व कर्मचारीहरुको रहेको बताए । उनले प्रदेश सरकारलाई सफल बनाउनेतर्फ गम्भीरतापूर्वक लाग्न कर्मचारीहरुलाई आग्रह समेत गरे ।

  • २०८१ भदौ २४, सोमबार १७:४५