उपभोक्ता ठग्नेलाई जोगाउन नसकिने मन्त्री भण्डारीको अडान

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७ असोजमा गरेको बजार अनुगमनका क्रममा काठमाडौंस्थित १७ होटलमा छापा हानेर एक होटललाई तीन लाख रुपैंयाँ जरिवाना तिराएको थियो ।उक्त कारवाहीपछि होटल व्यवसायीहरुको संगठन र उद्योग वाणिज्य संघलगायतले आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् । संगठनहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कारवाही विरुद्ध ज्ञापनपत्र समेत पेस गरेका छन् ।

विहीबार व्यवसायीहरुको प्रतिनिधिमण्डल उद्योगमन्त्री दामोदर भण्डारीलाई भेट्न पुगेका थिए । उनीहरुको माग व्यापारीलाई कारवाहीबाट जोगाउन र जरिवाना गरिएको रकम फिर्ता गर्नुपर्ने सम्मको छ।
तर उक्त प्रतिनिधिमण्डललाई मन्त्री भण्डारीले व्यापारिक क्षेत्रमा भइरहेको अनियमितता रोक्नमा साथ दिन आह्वान गरेपछि प्रतिनिधिमण्डल सहमत हुदैँ फिर्ता भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री भण्डारीले व्यवसायीका संगठनलाई बजार अनुगमनमा संगै हिड्न आग्रह गर्दै व्यवसायीले गल्ती नगरेमा बजार अनुगमन नै नगर्ने समेत बताए ।

उनले भने, ‘अहिले व्यवसायी, ग्राहक, सरकारका प्रतिनिधि, जेसुकै भएपनि सबभन्दा पहिला सबै उपभोक्ता हौँ । स्वस्थकर खाद्य सामग्री उपयुक्त मुल्यमा पाउनुपर्छ । तर काठमाडौंका केहि रेस्टुरेण्टले असुल्दै आएको मूल्य अत्याधिक छ, त्यो गर्न पाइदैन् । २२ रुपयाँ पर्ने पानीको बोतल एकसय रुपैयाँमा विक्री गर्दा कारवाही नगरेर के गर्ने ? होटलैपिच्छै फरकफरक मुल्यसूचि रहेकाछन्, यसमा एकरुपता ल्याउनुस् , गुणस्तरिय सामग्री उचित मूल्यमा उपलब्ध गराउनुस् । अनुमगन गर्न छाडिदिन्छौँ । अहिले राजमार्ग क्षेत्रका होटलहरुमा गुणस्तरहीन खाना खानुपर्छ, व्यवसायीको फाइदाको लागि उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्न पाइदैँन् । उपभोक्ता ठग्ने बिषयमा सरकार मुखदर्शक बन्न सक्दैन् ।’

मन्त्री भण्डारीले व्यवसायीका संगठनहरुले उपभोक्ताको हितमा वकालत गर्न आग्रह गरे । उनले महंगी अनुसारको सुविधा होटलहरुले नदिएकोले सुधार गर्नुपर्ने बताउँदै होटलमा कामगर्ने कर्मचारीले समयमै उचित तलव नपाएको प्रयाप्त गुनासो आफुसंग आउने गरेको गरेको भन्दै सचेत गराए ।एकै स्तरका होटल तथा रेष्टुरेण्टमा मूल्यमा पनि एकरुपता हुनुपर्ने मन्त्री भण्डारीको भनाई छ । उनले पाँचतारे होटल, रेष्टुरेण्टहरु र खाजाघरहरुमा पाइने सामग्रीको स्तर हेरेर मात्रै मूल्य निर्धारण गर्नुपर्ने बताए ।
यता, व्यवसायीले गरिरहेको अनियमितताबारे पर्याप्त गुनासो आउने गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले बताए ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१