काठमाडौंस्थित भारतीय राजदूतावासले मनायो १५५ औँ गान्धी जयन्ती

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले १५५ औँ महात्मा गान्धी जयन्तीको अवसरमा विशेष कार्यक्रम गरेको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दूतावास परिसरमा रहेको महात्मा गान्धीको शालीकमा माल्यार्पण गरेका छन् । उनले त्यसक्रममा महात्मा गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

उक्त क्रममा चर्चित ब्यान्ड सुरसुधाकी सरस्वती खत्रीले महात्मा गान्धीको समर्पणमा सांगीतिक प्रस्तुति दिएकी छन् ।

यो दिवसको कार्यक्रममा नेपाल चर्खा प्रचारक गान्धी-तुलसी स्मारक महागुठीका सदस्यहरू पनि सहभागी भएका छन् । त्यसक्रममा राजदूत श्रीवास्तवले दूतावासभित्रका सरसफाइ कामदारलाई सम्मानसमेत गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००७ मा महात्मा गान्धीको जन्म दिनलाई विश्व अहिंसा दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरेपछि हरेक वर्ष अक्टोबर २ का दिन यो दिवस मनाइन्छ ।

अहिंसा दिवस मनाउनेसम्बन्धी १५ जून २००७ मा महासभाद्वारा पारित सङ्कल्प प्रस्तावमा ‘शिक्षाको माध्यमबाट जनतामा अहिंसाको व्यापक प्रचार गर्नुपर्छ ।

अहिंसाको सिद्धान्त सहिष्णुता तथा शान्तिको माध्यमबाट नै सुरक्षित गर्न सकिन्छ ।’ भनिएको छ । महासभामा भारतद्वारा प्रस्तुत प्रस्तावलाई नेपाललगायत विश्वका १४० मुलुकले समर्थन गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१