
काठमाडौं । सोमबार विहान गृहमन्त्री रमेश लेखकले बाढी पहिरोबाट क्षतिग्रस्त काभ्रेको पनौती नगरपालिका–१२ भूमेडाँडा र बेथानचोश गाउँपालिका ४ चलालको निरीक्षण गरेका छन् ।
बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि उनले तीन वटै सरकारको विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी रहेको भन्दै तीन तहकै सरकारबीच समन्वय गरेर अगाडि बढ्ने बताए ।उनल भने, ‘भारी वर्षाबाट सिर्जित बाढी–पहिरोबाट जन–धनको ठूलो क्षति भएको छ । संघीयता र स्थानीय तहको आवश्यकता विपत्तका बेला महसुस भएको छ । संघीय, प्रदेश र स्थानीय तहको सरकार मिलेर काम गर्दा विपत्तिको सामना गर्न सजिलो हुन्छ । तीन वटै सरकारको विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी छ । तीन तहकै सरकारबिच समन्वय गरेर अगाडि बढ्नुपर्छ ।’
उनले विकास र विपत्तिमा राजनीति नहुने भन्दै सडक, खानेपानी, विधुत, स्वास्थ्य लगायत विषयमा तत्काल लाग्नु पर्ने बताए ।उनले भने, ‘विकास र विपत्तिमा राजनीति हुँदैन । सबैले मिलेर काम गर्नुपर्छ । पीडामा रहेका मानिस राहत दिन सबै लाग्नुपर्छ । खोजी र उद्धारको काम जारी रहेको भन्दै अब राहतको व्यवस्था गराउने अवस्थामा छौँ । सडक, खानेपानी, विधुत, स्वास्थ्य लगायत विषयमा हामी लाग्नुपर्छ । बाढी पहिरोबाट काभ्रेमा ७८ जनाको मुत्यु, ७१ जना घाइते र ६ जना बेपत्ता छन् । घाइते मध्ये १८ जनाको उपचार भइरहेको छ भने बाँकी डिस्चार्ज भइसकेका छन् ।’
उनले मृतकका परिवारलाई दुई लाख क्षतिपूर्ति दिने काम भएको भन्दै घरबार विहीनहरुलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको २५ हजार दिने काम भएको बताए ।उनले भने, ‘मृत्युुका परिवारलाई दुई लाख क्षतिपूर्ति दिने काम भएको भन्दै घरबार विहीनहरुलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको २५ हजार दिने काम भएको छ । स्थानीय तहले लाभग्राही पहिचान गरेको तीन दिनमा पहिलो किस्ता उपलब्ध गराइन्छ । घाइतेको निशुल्क उपचार हुन्छ । काभ्रेका बाढी–पहिरो प्रभावितलाई थप पालिका वा वडालाई संकटग्रस्त घोषणाका लागि सिडिओले सिफारिस गर्नुहुन्छ । सडक सञ्जाल टुटेका पालिकामा हेलिकप्टरबाट राहत उपलब्ध गराइनेछ ।’ बाढी–पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको उनको भनाई छ ।