नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’

काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित् नाटयश्वरी मन्दिरको नवनिर्मित भवनका उद्घाटन गरेका छन् ।

बिहीबार मन्दिरको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले परापूर्वकालदेखि यी स्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको सुन्दै आएको बताउँदै आज आफूले सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धिका लागि प्रार्थना गरेको बताए ।राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस भएको बताए ।उनले भने, ‘जब मैंले बडीमालिका उभिएर चारैतिर प्रकृतिको अनुपम र मनोरम जुन छटा देखें मलाई म स्वर्गमा आएको महशुस भएको छ । मैंले जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस गरेको छु ।

नाट्यश्वरी देवीको मन्दिर प्राङगणमा उभिएर देवीलाई सम्झेर म भन्न चाहन्छु । यहाँ रहेको प्रकृतिको छटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु ।मलाई बाजुरावासी स्वर्गका वासिन्दा जस्तो लागेको छ, विपन्नतामा छौ भन्ने तपाईहरुलाई लाग्ला, अब तपाईहरुले त्यो भावना मनमा नराख्नुहोला, यो ठाउँको कृषि, पर्यटनको विकास हुन्छ, स्तरीय बाटो खुल्छ र यो भूमि सुन्दरता र वैभवताले भरिपूर्ण हुनेछ ।’राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांँस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई प्रसिद्ध धार्मिकस्थल एवम् दिव्यधामहरूले एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१