पशुपति क्षेत्र विकास कोषमा भएका बेथितिबारे मन्त्रीलाई हिन्दूराष्ट्र अभियानको ध्यानाकर्षण

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा देखिएका बेथितिहरूका विरुद्धमा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अभियानले आइतवार मन्त्री पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाइको हो।

उक्त ध्यानाकर्षण पत्रमा कोषले हिन्दू धर्म तथा संस्कृतिमाथि भइरहेको क्रियाकलापलाई ’धर्मविरोधी’ बताइएको छ ।

ध्यानाकर्षण पत्रमा कोषले पशुपति क्षेत्रमा रहेका विभिन्न धार्मिकस्थल अन्य धर्मका संस्थानहरूलाई सुम्पिएको, गुठी क्षेत्रलाई अनधिकृत रुपमा चलाएको र पशुपति मन्दिर परिसरभित्रै इसाई धर्मका गतिविधिहरू सञ्चालन गरिएको आरोप लगाइएको छ ।

सँगै त्रिशूल र डमरू छाप अङ्कित क्षेत्रलाई चर्च र मस्जिदका रुपमा प्रयोग गर्न दिएको, फोटो खिच्न मनाही हुँदाहुँदै विदेशीहरूलाई अनुमतिसहित स्थल उपलब्ध गराएको र मृगस्थली क्षेत्रमा चिहान बनाउन दिएका कुराहरूलाई गम्भीर बेथितिका रुपमा उक्त पत्रमा उल्लेख गरिएको छ ।

महासचिव देवेश झाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा विशेष रुपमा गौशाला धर्मशालाले पशुपति क्षेत्रमा निःशुल्क सेवा प्रदान गर्दै आएको क्रियाकलापलाई विघटन गर्ने प्रयास भएकोमा गम्भीर चिन्ता व्यक्त गरिएको छ ।

’सनातन धर्मलाई कमजोर पार्ने नियोजित योजनाअन्तर्गत गौशाला धर्मशालाको विघटन गराउने प्रयास भइरहेको छ,’ पत्रमा भनिएको छ ।

पत्रमा पशुपति क्षेत्रमा रहेका विकृति र धर्मविरोधी गतिविधिहरूको तत्काल समाधान खोज्न कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेसमक्ष आग्रह गरिएको छ । साथै, अदालती प्रक्रियामा रहेको विवादलाई कानूनी टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१