जावलाखेलमा कार्तिक ८ गतेदेखि फुल प्रदर्शनी एवम प्रतिस्पर्धा हुने

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले १७ औं संस्करणको गोदावरी फूलको प्रदर्शनीको आयोजना गरिने भएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै फ्यानले ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक ८ देखि ११ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा संचालन गर्न लागेको जानकारी गराएको छ ।

प्रदर्शनीमा व्यवसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीहरुका लागि सेल्फी स्टल एकगरी जम्मा ७५ वटा प्रदर्शनी कक्षहरु रहने छन् ।प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने छ ।प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरुले उत्पादन गरेको गोदावरी फूलको पाँचवटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ र गोदावरीको कट फ्लावर प्रजाती रहने छ । साथै मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराईने छ ।

प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ट हुने नर्सरी/फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ ।
यस मेलामा नेपालमा व्यवसायिक रुपमा उत्पादन हुदै आएको विविध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस बर्ष भित्रिएका गोदावरी फूलको केहि नयाँ प्रजातीका फूल बिरुवाहरुको समेत प्रदर्शनी तथा बिक्री बितरण हुनेछन् ।साथै यससिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश हुने छन ।पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्रदान गरिने छ ।चारदिने प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१