
काठमाडौं । दशरथ रंगशालाको विकल्पको रुपमा निर्माण गरिएको च्यासल रंगशाला गत असोजमा परेको अविरल वर्षापछि आएको बाढीले क्षतीग्रस्त बनेको छ ।गत असोज दोस्रो साता परेको अविरल वर्षापछि च्यासल रंगशाला पोखरीमा परिणत भएको छ । बाढीका कारण मैदान भत्किनुका साथै अन्य भौतिक संरचनाहरुमा समेत क्षति पुगेको छ ।
क्षति विवरण संकलनका लागि समिति गठन गरिएको र समितिले स्थलगत अध्ययनपछि विवरण बुझाएपछि पुनर्निर्माण प्रक्रिया अगाडि बढ्ने नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले बताए ।फिफाको फुटबल विकास परियोजनाको सहयोगमा सन् २००२ मा जग राखिएको च्यासल रंगशाला सन् २०१७ मा राखेपको स्वामित्वमा गएको थियो ।मैदानमा सहिद स्मारक ‘ए’ डिभिजन लिग भए पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन । सामान्य वर्षामा समेत पोखरी बन्ने भएकै कारण पनि एन्फाले च्यासल मैदानको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न नसकेको हो ।
रंगशाला सरकारले करोडौं लागनी गरेर बनाएको मनसुनको बेला लगातार बाढी पस्ने गरेको छ । साफ यू–१६ महिला च्याम्पियनसिपका खेल च्यासल मैदानमा गर्ने भनिएपनि पछि सारेर एन्फामा गरिएको थियो ।बागमती करिडोरको मापदण्डका कारण छेउ खोला साइडमा प्याराफिट बनाउन नसक्नु र बर्षेनी बाढीको चपेटामा पर्दा रंगशालाको भविष्य नै अन्योलनमा परेको छ ।हिजोआज मैदानको अवस्था नाजुक छ । मुख्य प्रवेशद्वारबाटै छिरेको बाढीले मैदानको घाँसमा क्षति पुगेको छ । मनोहरा खोलाले ल्याएको बाढीका कारण हिलो र फोहोर मैदानमा जमेको छ । तर हालसम्म सरसफाइ र क्षतिको विवरण संकलन गरिएको छैन् ।